खाडी युद्धले कच्चा तेलको मूल्य आकासियो, नेपालमा पनि पेट्रोल-डिजेलको मूल्य वृद्धि

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिकाले र इजरायलले मिलेर इरानमाथि आक्रमण सुरु गरेपछि विश्वको ऊर्जा बजारमा ठूलो अस्थिरता उत्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिले ब्यारेलको १०० डलरदेखि ११४ डलरसम्म पुगेको छ। मुरवान क्रुडमा करिब ११४.४० डलरमा कारोबार भइरहेको छ भने डब्ल्यूटीआई क्रुडमा करिब ९९ डलर र ब्रेन्ट क्रुडमा करिब १०४ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।

विशेषगरी खाडी क्षेत्रको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा तनाव बढेपछि विश्वभर ऊर्जा आपूर्तिमा असन्तुलन देखिएको छ। उक्त जलमार्गबाट विश्वको ठूलो हिस्सा कच्चा तेल र ग्यास ढुवानी हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको ठूलो दबाब सिर्जना गरेको छ।

इरानले उक्त जलमार्गमा जहाजहरूको आवतजावतमा कडाइ गर्ने संकेत दिएपछि ऊर्जा बजार अझै अस्थिर बनेको छ। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले हर्मुज जलमार्ग बन्द राख्ने अडान दोहोर्‍याएका छन्। यद्यपि इरानले अमेरिका र इजरायल बाहेक अन्य मुलुकलाई तेल आपूर्ति निरन्तर गर्ने जानकारी दिएको छ।

नेपालमा प्रत्यक्ष असर

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको असर र देशमा तेल आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन गर्नु परेको जनाएको छ।

समुद्री ढुवानी महँगियो

मध्यपूर्वमा युद्धका कारण समुद्री मार्गमा पनि समस्या देखिएको छ। विशेषगरी हर्मुज जलमार्ग वरपरको जोखिम बढेपछि धेरै जहाज कम्पनीहरूले वैकल्पिक लामो मार्ग प्रयोग गर्न थालेका छन्।

सामान ढुवानीका लागि जहाजहरूले अब अफ्रिकाको “केप अफ गुड होप” मार्ग प्रयोग गर्न थालेका छन्, जसका कारण करिब ६ हजार ५०० किलोमिटर बढी यात्रा गर्नुपर्ने भएको छ। यसले ढुवानी समय मात्र होइन लागत पनि उल्लेखनीय रूपमा बढाएको छ।

जहाज कम्पनीहरूले अहिले ‘युद्ध प्रिमियम’ शीर्षकमा अतिरिक्त शुल्क लिन थालेका छन्। ४० फिट कन्टेनरमा ४ हजार डलरभन्दा बढी अतिरिक्त शुल्क लिने गरिएको छ भने कतिपय अवस्थामा यो ७ हजार डलरसम्म पुगेको छ। साथै बन्दरगाहमा बढी भीड, ढिलाइ र डेमरेज शुल्कले पनि व्यापार लागत अझै बढाइरहेको छ।

ग्यास आपूर्तिमा पनि दबाब

मध्यपूर्वको तनावको असर नेपालमा खाना पकाउने ग्यास आपूर्तिमा पनि देखिन थालेको छ। बजारमा सिलिन्डरको अभाव सुरु भइसकेको छ र कतिपय स्थानमा लाइन लाग्न थालेको छ ।

नेपाल आयल निगमले आवश्यक परे आधा सिलिन्डर ग्यास वितरण गर्ने योजना समेत तयारीमा राखेको छ ।

नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले मध्यपूर्वको तनावले अप्रत्यक्ष रूपमा नेपाललाई पनि असर गर्ने सम्भावना रहेको छ। भारतले प्रयोग गर्ने कच्चा तेलको लगभग आधा हिस्सा हर्मुज जलमार्गबाट आउने भएकाले त्यहाँ आपूर्ति प्रभावित भए भारतमा लागत बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिएको छ ।

मध्यपूर्वमा जारी युद्ध र तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धिको अवस्था दीर्घकालीन हुन सक्ने देखिन्छ। नेपालमा इन्धन मूल्य बढेसँगै ढुवानी लागत, दैनिक उपभोग्य वस्तुका मूल्य र ग्यास आपूर्तिमा पनि दबाब बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै