

काठमाडौँ । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । गृह मन्त्रालय स्रोतले भन्यो, ‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला ।’
उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।
यस प्रकरणले वैदेशिक रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानलाई थप उच्च तहसम्म पुर्याएको संकेत गरेको छ । यसअघि यही प्रकरणमा तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।
उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । पूर्व मुख्यसचिव अर्यालको पक्राउसँगै यो प्रकरणमा प्रशासनिक तथा राजनीतिक तहको संलग्नताबारे अनुसन्धानले थप नयाँ मोड लिन सक्ने देखिएको छ ।