नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा जागिर खाने भारतीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत भारतीले नक्कली प्रमाणपत्र प्रयोग गरेर सरकारी सेवामा प्रवेश गरेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले २०५५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएको भनी सिनं ०२५२४३१एम उल्लेख गरिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको जनाइएको छ ।

अख्तियारका अनुसार उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले देवघाट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा काम गर्दै राष्ट्रसेवकको हैसियतमा विभिन्न सुविधा लिएका थिए ।

यसरी झुट्टा प्रमाणपत्र प्रयोग गरी पद प्राप्त गरी गैरकानुनी लाभ लिएको पुष्टि भएपछि भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ उपदफा १ बमोजिम कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै