काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा फागुन २८ गते बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनी, सञ्चालक समिति, पूर्व सञ्चालक तथा बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।
वित्तीय विवरण र प्रस्तावहरू पारित
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव समेत सभाले स्वीकृत गरेको छ ।
सभामा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूका बारेमा जानकारी गराएका थिए ।
सामाजिक उत्तरदायित्वमा अग्रणी
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाले गर्ने न्यूनतम योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति उत्तरदायी बनेको दाबी गरेको छ । बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विशेषगरी स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको छ ।
बैंकको विशेष पहलकदमीले ७० वटा ‘न्यानो नानी’ (Baby Warmer) मार्फत हरेक वर्ष करिब २,५९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जानकारी दिइएको छ । यस्तै, बैंकले गत आर्थिक वर्षमा राज्यलाई ४१ करोड रुपैयाँ कर बुझाएको छ ।
पूँजी र सञ्जाल
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । ज्योति विकास बैंकले देशैभर रहेका ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।