७ महिनामा रेमिट्यान्स झण्डै ४०% ले बढ्यो, माघमा मात्रै १९८ अर्ब भित्रियो

काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) मा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बढेको हो ।

बैंकका अनुसार साउनदेखि माघ मसान्तसम्ममा कुल १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह जम्मा ७.५ प्रतिशतले मात्र बढेको थियो। गत वर्षको तुलनामा यो वर्षको वृद्धिदर निकै उत्साहजनक देखिएको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९८६ अर्ब ३४ करोड रहेको थियो ।

माघ महिनाको अवस्था

तथ्याङ्कअनुसार माघ महिनामा मात्रै १९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको माघ महिनामा १३७ अर्ब ५० करोड रुपैयाँ भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्षको माघमा मात्रै करिब ६० अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या२,७४,६२२ र  पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,९०,८८६ रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै