काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज (आइतबार) थप ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ मार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि ब्याजदरमा आउन सक्ने अस्वाभाविक गिरावट रोक्न र वित्तीय सन्तुलन कायम गर्न राष्ट्र बैंकले यो कदम चालेको हो ।
समय: अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ।
सहभागिता: राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्।
सीमा: इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ३० अर्ब रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिँदा ५ करोड रुपैयाँले भाग जाने अङ्क हुनुपर्नेछ।
भुक्तानी: यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने राष्ट्र बैंकले जनाएको छ।
हाल बैंकहरूमा निक्षेप संकलन उच्च रहेको तर कर्जाको माग सोही अनुपातमा बढ्न नसकेका कारण प्रणालीमा अधिक तरलता देखिएको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमालाई व्यवस्थित गर्न नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ।