वाणिज्य बैंकहरूको नाफा ४६.४४ अर्ब करोड, कुन बैंकले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म वाणिज्य बैंकहरूको खुद नाफा १५.९९ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा १९ वाणिज्य बैंकले कुल ४६ अर्ब ४४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४० अर्ब ४ करोड रुपैयाँ थियो ।

समग्र नाफा वृद्धि भए पनि बैंकिङ क्षेत्रको प्रदर्शन एकरूप देखिएको छैन । केही बैंकले तीव्र सुधार देखाउँदा केही ठूला बैंकहरू दबाबमा परेका छन्। व्यवसाय विस्तार सुस्त रहे पनि ब्याज खर्च घटेकाले समग्र नाफा वृद्धि भएको देखिएको हो । निक्षेपको ब्याजदर घट्दा ब्याज खर्च कम भएको र नियामकीय सहुलियतले बैंकहरूको नाफा बढ्न सहयोग पुगेको बैंकिङ क्षेत्रका अधिकारीहरूको भनाइ छ ।

वित्तीय विवरण सार्वजनिक गरेका १९ बैंकमध्ये १२ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको विवरण भने सार्वजनिक गरिएको छैन ।

यस अवधिमा कुमारी बैंकको नाफा सबैभन्दा उच्च १३६१.८६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष प्रोभिजनिङका कारण प्रभावित बनेको बैंकले यो वर्ष उल्लेख्य सुधार गर्दै ४ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । गत वर्ष मात्र २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्ष ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्दै १३६१.८६ प्रतिशतको असाधारण वृद्धि गरेको छ ।

नाफाको आधारमा भने नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३३.९२ प्रतिशतले बढी हो ।

ग्लोबल आइएमई बैंक ४ अर्ब ४० करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ भने कुमारी बैंक नाफा वृद्धिसँगै शीर्ष तीनमा उक्लिएको छ। एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

समग्र सुधारका बीच केही बैंकहरूको नाफा भने घटेको देखिन्छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया, ग्लोबल आइएमई, कृषि विकास बैंक र प्रभु बैंकको नाफा भने घटेको छ ।

प्रभु बैंकको नाफा ५४.६१ प्रतिशतले घट्नु यस अवधिको सबैभन्दा ठूलो गिरावट हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेको छ। यी गिरावटहरू मुख्यतः खराब कर्जा व्यवस्थापन, बढ्दो प्रोभिजनिङ खर्च र मर्जरपछिको संरचनागत चुनौतीसँग जोडिएका छन् ।

कर्जा असुलीमा केही दबाब रहे पनि राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण सुविधा तथा जोखिम भार घटाइदिएका कारण नाफामा सुधार देखिएको हो । ब्याजदर घटेसँगै लागत घटे पनि कर्जा माग सुस्त रहँदा बैंकहरूको दीर्घकालीन आम्दानी संरचना भने दबाबमा रहेको छ ।

बजार विश्लेषण गर्दा समग्र बैंकिङ क्षेत्र अझै मिश्रित अवस्थामा रहेको देखिन्छ। एकातर्फ तरलता सहजता र ब्याजदर स्थिरताले बैंकहरूको ब्याज आम्दानीलाई सहयोग पुर्‍याएको छ, जसले समग्र नाफा वृद्धिमा योगदान दिएको छ । अर्कोतर्फ कर्जा विस्तार अपेक्षित रूपमा नबढ्नु, लगानीको माग कमजोर रहनु र खराब कर्जा बढ्नुले केही बैंकहरूको नाफा क्षमतामा दबाब सिर्जना गरेको छ ।

समग्रमा, बैंकिङ क्षेत्रले नाफा वृद्धिको सकारात्मक संकेत दिएको भए पनि बैंक-बैंकबीचको प्रदर्शनमा देखिएको ठूलो असमानताले बजार अझै सन्तुलित चरणमा प्रवेश गरिनसकेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै