काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने भएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार आमन्त्रण गरेको बैठकले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको टिमलाई आधिकारीकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।
शुक्रबार मात्रै सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै थापा नेतृत्वको टिमलाई आधिकारीकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले भने, “बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने भएको छ, अब कांग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा पनि छलफल भएको छ, अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रूपमा काम गर्ने कुरा भएको छ ।”
स्वतन्त्र न्यायापालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको जनाउँदै कानुनी र वैधानिकताको विषय टङ्गिए पनि राजनीतिक विषय भने बाँकी नै रहेको पनि बताए । सर्वोच्चको फैसला मानेर अघिबढ्ने निष्कर्ष निकालेको जानकारी दिए । आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले नेता मीनबहादुर विश्वकर्माले बताए ।
“हिजोको दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने जिम्मा शेरबहादुर देउवामा थियो । अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकोमा छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको जिम्मामा छ”, उनले भने ।
पार्टीका नेता डा. प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुङ्गो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे ।
नेता महतले पार्टीको १५औँ महाधिवेशन गर्नका लागि दुवै समूहलाई सहभागिता गरेर साझा संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने धारणा बैठकमा उठेको बताए । पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।