साताभरमा सुन २९ सयले महँगियो, तोलाको झण्डै ३ लाख पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत २७ गते शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन, नयाँ वर्षको पहिलो साताको अन्त्य (वैशाख ४ गते) सम्म आइपुग्दा २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ।

साताभरिको मूल्य उतारचढाव

यो साता सुनको मूल्यमा तीव्र उतारचढाव देखियो। वैशाख २ गते त सुनको मूल्यले ऐतिहासिक उचाइ छुँदै प्रति तोला ३ लाख २ हजार ७०० रुपैयाँसम्म पुगेको थियो।

दैनिक मूल्य विवरण:

चैत २७ (शुक्रबार): २ लाख ९६ हजार ९०० (आधार मूल्य)

चैत २९ (आइतबार): २ लाख ९७ हजार १००

चैत ३० (सोमबार): २ लाख ९६ हजार ७०० (४०० रुपैयाँ गिरावट)

वैशाख १ (मंगलबार): २ लाख ९९ हजार ८००

वैशाख २ (बुधबार): ३ लाख २ हजार ७०० (साताकै उच्च)

वैशाख ३ (बिहीबार): ३ लाख २ हजार ८००

वैशाख ४ (शुक्रबार): २ लाख ९९ हजार ८००

बजारको अवस्था: लगनको सिजन र सुनसान पसल

अहिले विवाहको लगनको महिना र विभिन्न सांस्कृतिक पर्वहरूका कारण बजारमा सुनको माग केही बढेको व्यवसायीहरू बताउँछन् । माग बढेसँगै कारोबारमा केही सुधार देखिए पनि मूल्य अत्यधिक बढेका कारण सर्वसाधारणको पहुँचभन्दा बाहिर जान थालेको गुनासो समेत सुनिन थालेको छ ।

विवाह र विशेष प्रयोजन बाहेक अन्य समयमा भने सुन पसलहरू प्रायः सुनसान देखिने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण नेपाली बजारमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै