धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार साँझ बसेको बोर्ड सञ्चालक समितिको बैठकमा उनले आफूले राजीनामा दिएको औपचारिक जानकारी गराएका हुन् ।

बैठकमा सहभागी एक सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका सदस्यहरूलाई सम्बोधन गर्दै आफूले पद छोड्ने निर्णय गरेको बताएका थिए । बैठक सकिएलगत्तै उनी आफ्नो राजीनामा पत्र बुझाउन अर्थ मन्त्रालयतर्फ लागेका छन् ।

“अध्यक्षज्यूले बैठकमा आफूले राजीनामा दिने निर्णय गरेको जानकारी गराउनुभयो र पत्र बुझाउन मन्त्रालय जानुभयो,” ती सञ्चालकले बताए ।

श्रेष्ठले बोर्ड बैठकमा राजीनामा दिने घोषणा गरेका तर, शुक्रबार साँझसम्म औपचारिक रुपमा राजीनामा आईनसकेको अर्थमन्त्रालयका एक अधिकारीले बताए ।

श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो । त्यसअघि बोर्डको अध्यक्ष नियुक्तमा लामो समय खिचातानि भएर अल्झिएको थियो । योजना आयोगको उपाध्यक्ष संयोजक रहेको समितिले धितोपत्र बोर्डको अध्यक्षका लागी तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमध्ये तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष भएका थिए।

उनी सेबोनको अध्यक्ष नियुक्त भए लगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अध्यक्ष भएपछि श्रेष्ठले बिचौलिया प्रयोग गरेर विभिन्न कम्पनीको आईपीओ निश्कासनमा कमिशनको बार्गेनिङ गरेका थिए । विशेषगरी जलविद्युत कम्पनीको आइपीओमा श्रेष्ठले बिचौलियामार्फत बार्गेनिङ गरेका थिए । सोही विषयमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बोलाएर बयान लिएको थियो ।

श्रेष्ठलाई बिचौलियाहरुले नै सेबोनको अध्यक्षको नियुक्ति दिलाएको टिप्पणी हुने गरेको थियो।
त्यति मात्रै होइन, श्रेष्ठले आफ्नै लगानी रहेको बुंगल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आइपिओ) उनी सेबोनको अध्यक्ष रहेकै समयमा निश्कासन गरेका थिए । उक्त कम्पनीमा श्रेष्ठको ०.६२ प्रतिशत सेयर छ ।

विवादै विवादको घेरामा रहेका श्रेष्ठ १७ महिना धितोपत्र बोर्डको अध्यक्ष रहेर बाहिरिन लागेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै