काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तारा मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
अनुभवी बैंकरको पुनरागमन
नवनियुक्त सीईओ मानन्धरसँग बैंकिङ क्षेत्रको लामो र विविध अनुभव छ । उनले आफ्नो बैंकिङ करियर नेपाल बंगलादेश बैंकबाट सुरु गरेका थिए ।
उनले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक (यसअघि पनि), प्राइम कमर्शियल बैंक विभिन्न नेतृत्वदायी भूमिकामा रहेर कार्य गरिसकेका छन् ।
मानन्धर हाल डिस होम (DishHome) मा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।
जेठ १ देखि नयाँ कार्यकाल
बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार मानन्धरको कार्यकाल आगामी जेठ १ गतेदेखि सुरु हुनेछ। हालका सीईओ प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा सकिँदैछ । पोखरेलको कार्यकाल सफल रूपमा समाप्त भएपछि मानन्धरले बैंकको कमान्ड सम्हाल्नेछन् ।