अधुरो यात्रा, अनन्त सम्झना: वियोगमा अटुट प्रेमको कथा

-शाेबु कटवाल ।

प्रत्येक मानिसलाई आफ्नो भविष्यले केही सोच्न बाध्य गराउँछ । प्रत्येक ब्यक्ति आफ्नो विवशतामा हुर्किएको हुन्छ । कसैका पिरहरू आँखामा पग्लिन्छन् । कसैका पीडाहरू बोलीमा अभिब्यक्त हुन्छ्न् । समय सधैँ एकनास रहँदैन कहिले खुसी ,कहिले पीडा त्यही समाजमा हुर्किएर एक मेरो नजरले देखिएको कथा छ ।

“अतीत बर्तमानको आधार भविष्यको ! “-“उसका आँखाहरूमा उदासीको बादल मडारिएको थियो । अनुहारभरि चिन्ताका लहरहरूले बास गरेका थिए । ओठबाट मुस्कानले बिदा लिएको थियो । तैपनि मुस्कुरायो ऊ । उदासीको गहिरो निश्वास भरिएको मुस्कानमा जिन्दगी कुरूप भन्दा अरू नदेखिंदोरैछ । अहँ फिटिक्कै मन परेन उ मुस्कुराएको । मान्छे आफैँसँग झुट बोल्न कसैगरी पनि नसक्दो रहेछ । ओठले लुकाएको सत्य आँखाहरूले लुकाउन नसक्ने रहेछ । हात पनि मिलाउन नपाउँदै उसका आँखाहरू बर्सिन सुरु गरे । मसँग शब्दहरू थिएनन् । निःशब्द रहेँ । भक्कानियो ऊ ।”दर्शन म एक्लो भएँ यार । अब म यति लामो जिन्दगी कसरी बिताऊँ !

—“मूल सडकमै भक्कानिन थालेपछि कसरी सम्हाल्नु – आत्तिएँ म म चुपचाप मौन भइरहेँ। मन भरी बेचैनी भो, मेरो मनमा त्यो सुनौलो अतीतको हुन्डरी मच्चिन थाल्यो ।कस्तो मान्छे कस्तो भइसकेछ ! समयको झोक्काले मान्छेलाई कस्तोबाट कस्तो बनाउँदो रैछ । उफ् ! यो मान्छे यस्तो कहाँ थियो र – बोलिरहनुपर्ने । हाँसिरहनुपर्ने । हँसाइरहनुपर्ने ।

क्याम्पसको पहिलो दिन । नयाँ क्याम्पस । नयाँ ठाउँ ।नयाँ साथीहरू । नयाँ कक्षाकोठा ।सबै सबै नयाँ । म सङ्कोच, कौतूहल र उत्सुकता लिएर चुपचाप छिरेको थिएँ कक्षाकोठामा । १०० जना जति अट्ने कोठा । कक्षाकोठा इतिहास जत्तिकै पुरानो संरचना जसमा मेरो अबका केहि वर्ष भुक्तान गर्नुपर्ने छ । आफैँभित्र डराउँदै छिरेको थिएँ । अन्तिम लहर तिर जाँदै थिएँ । च्याप्प कसैले समात्यो हात । “कता हो साथी सुरुसुरु – यता खाली छ । अटाइन्छ होला नि – कि आफूलाई डाइनोसर सम्झिन्छ र -” तेस्रो लहरको आधा रित्तो बेन्चतिर तान्दै बोलेको थियो ऊ ।शब्दमा जादु थियो सायद । त्यहीँ क्षण देखि नयाँ ठाउँमा एक अनजान साथी भेटियो । त्यस पछि नै हो ( काठमाडौँ ) राजधानीको खुल्ला आँगनमा हामीले आत्मीयताको नाताले नजिक हुन थालेको । तिमीबाट सुरु भएको सम्बोधन तँ मा झरिसकेको थियो । औपचारिकताको बाँध नाघेर मित्रताको साइनो गोप्य आँगन भरी छताछुल्ल हुन थालेको थियो । सुख दुःख हामीले रोटीको टुक्राजस्तै बाँड्न थाल्यौँ ।

“ओइ दर्शन मलाई लभ परेजस्तो छ यार”, क्याम्पसको गेटभित्र छिर्दै गर्दा एक दिन भन्दै थियो ऊ । “मैले नि चाल पाइ छु”, जिस्काउँदै कोट्याएको थिएँ मैले, “त्यहीँ श्रुति होइन तेरो कपटी मन चोर्ने -“यत्रो सङ्गत गरेर पनि तैँले तेरो दाइलाई चिन्न सकिनस् है ! तैँले – तेरो दाइको शुद्ध स्वच्छ, कोमल, सिमलको भुवा जस्तो मन सुटुक्क चोर्ने मान्छे त्यो श्रुति नभएर क्लासकै भद्र, शिष्ट, संस्कारी ,अध्यनशिल शोयुषा हो । राम्रोसँग चिन आफ्नी भविष्यकी भाउजूलाई ।”

“हे भगवान्, मति बिग्रनु भनेको यहीँ हो । क्याम्पसदेखि सहरसम्म एक से एक अप्सराहरू हुँदाहुँदै त्यहीँ एउटी सरस्वती पुत्रीलाई बाहेक अरूलाई देख्न सकेनन् होइन तेरा आँखाले -” मनको कुरा लुकाउँदै जिस्काइदिएको थिएँ मैले । अँध्यारो अनुहार लगाएको थियो उसले । र मलाई त्यहीँ अँध्यारो अनुहारको फाइदा लुट्नु थियो । कक्षा भरी ऊ झोक्राइ रह्यो । मेरो ओठबाट राक्षसी मुस्कान निस्किरह्यो ।

“ओइ शोयुषा !” साँझ क्लास सकिएपछि बोलाएँ मैले । “किन” आफ्ना पावरवाला चस्माबाट आँखाको तिर तेर्स्याई उसले । “सानो कुरा गर्नु छ, एकै छिन समय देऊ न” मैले अनुरोध गरेँ । छेउमा उभिएको थियो ऊ । वैशाखको घाममा पनि जमेको थियो उसको अनुहार । काटे पनि रगत नचुहिएला जस्तो गरी । “तिम्रो कोही ब्वाइफ्रेन्ड छ कि छैन -” सधैँको बोलक्कड ऊ यही बेलामा बोलेन । सिधै सोधिदिएँ मैले । “हुँ— यहीँ हो तिम्रो काम -” चकित भई ऊ । सायद रिसाएर हिर्काउँथी होली ।

तर मित्रताको तगारो थियो बिचमा । क्याम्पसमा हामी मिल्ने साथी भइसकेका थियौँ । “छ भने प्रस्ट भन्देऊ । नभए तिमीलाई यो संयोगले मन पराउँछ । जति बोलक्कड भए पनि यसले भन्न सक्ने होइन मैले थाहा पाएर आफैँ भन्दिएको तिम्रो जस्तो जवाफ भए पनि प्रस्ट भन्नु ।” शब्दको अर्को प्रश्न थपिदिए मैले । संयोग मूर्ति जसरी उभिरहिरहृयो । शोयुषाको पनि ओठबाट शब्दहरू गायब भए । उ बोलिन। चुपचाप चिया सकेर हिँडी । मैले के गरेँ -बहादुरी वा दुस्साहस – अलमलिइरहेँ ।

“उसले के भन्ली यार -” संयोगको मुटु धड्किन थाल्यो । छातीको देब्रे कुनामा राखेको थिएँ उसलाई मैले । तँलाई थाहा त छ नि सब ,। कस्तो थिएँ । कस्तो गराई, ऊ थिई र त सिङ्गो संसार मेरो आफ्नो भइदिएको थियो । अब म कसरी बाँचूँ – ऊ नभएपछि मलाई यो संसारको के काम -” सुँकसुकाहटको बिचबाट अर्को भक्कानो छोड्यो उसले । शोयुषा आँखामा पावरवाला चस्मा लाउँथी । फेसनको मतलब गर्दिन थिई । उति सारो नबोल्ने । घमन्डी भन्थे सबैले । जब बिस्तारै सबैसँग हेलमेल भई थाहा भयो उ जत्तिकी सफा मनको कोही रहिनछ । कुरा सुन्दा यस्तो लाग्थ्यो दर्शन, इतिहास सबै पचाइसकेकी छे उसले । कक्षामा प्रोफेसरले पढाउँदा हाम्रो लागी रामायण लाग्थ्यो ऊ हरेक सिद्धान्तको भूगोल बताउँथी । एउटा राष्ट्रिय पत्रिकाको शनिवारिय अङ्कमा उसको कविता पढेपछि बल्ल सबैलाई थाहा भयो ऊ पढैया मात्र होइन अक्षरमा अभिव्यक्त गर्ने कुशल लेखिका पनि हो भनेर । त्यहीँ दिनदेखि त हो कक्षामा सबैले ऊ सँग हात मिलाउन थालेको । र, त्यो भन्दा पहिलेदेखि नै हो संयोग ऊ प्रति आकर्षित भएको । हामी ४ जना साथीको समूह बनेको थियो।

संयोग ,शोयुषा, म र दीपेश थियौँ समूहमा। पढन्ते भन्थे हाम्रो समूहलाई अरूहरूले । हाम्रो इज्जत जोगाइदिएकी थिई शोयुषाले ! हामी अध्ययन कम र गफ बढी गर्थाैँ । आफूले पढे जतिको शोयुषा सुनाउँथी ।ध्यान दिएर सुन्थ्यौँ । पछि फुल बुट्टा जोडेर भन्दै हिँड्थ्यौ ।सबैले भन्थे हामी जतिको पढ्ने कोही छैन ।

खासमा शोयुषा थिई हामीभन्दा फरक धातुले बनेकी ।अध्ययनशील थिई । सामाजिक गतिविधिमा पनि सक्रिय हिम्मतिली साहसी । केटाकेटी भने पछि हुरुक्कै ।शिक्षा सबैले पाउनुपर्छ भन्थी …..!अलि अलि पैसा कमाउन सके दु:ख पाएको केटाकेटीलाई स्कुल पढाउन सघाउँथे भन्थी ।यही थियो उसको सपना ।चिया पसलमा मैले लमीको भूमिका खेलेको अर्को दिन क्याम्पस जान खुट्टा सर्नै मानेका थिएनन् ।मनले भने कल्पनाका अनेक तस्बिर बनाइसकेको थियो कुनै तस्बिरमा संयोगको ओठभरि मुस्कान हुन्थ्यो ।कुनैमा रोदन ।मन फुलेर बेलुन बनेको थियो ।थाहा थिएन कति बेला फुट्नेछ , तर फुटेन उडिगयो हावासँगै ।

दर्शन …..मेरो साथी …. कसरी धन्यवाद दिऊँ तँलाई संसारभरको खुसी टिपेर तैँले मलाई दिएको छस् । संयोगको खुट्टा ठाउँमा थिएन ।क्याम्पस पुग्नेसाथ जुरुक्क उठाएको थियो मलाई ।छेउमा शोयुषा लाजले राती भएर मुस्कुराउँदै थिई ।कायर आफूले भन्न सकेको होइन केरे भनेर भन्दै थिई ।हाँसेर टारिदिएको थियो संयोगले।

अनि त समयको रफ्तारमा यो जोडिले कोरेका इन्द्रेणी तस्बिर कसले कसरी पो मेट्न सक्छ र – …..म कस्तो थिए – पुरै हावा ।उसले मान्छे बनाइ। सपना रोपिदिई मेरो मनमा ।म त्यही सपना देखेर जीवनको अर्थ लगाउन खोज्दै थिए ।तर उसले मलाई छोडेर गई ।उफ् ! म कता जाऊ अब – दर्शन मलाई जिन्दगीको यो यात्रा गाह्रो लाग्दै छ ।मर्न पाए पनि कति जाती हुन्थ्यो -“जीवनको परिभाषा र हुलिया फेरिदिएकी थिई शोयुषाले।जीवनलाई खेलको रूपमा मात्रै लिने संयोग बिस्तारै गम्भीर बनेको थियो ।जीवनको सडकमा सपना सजाउनु पनि कति ठुलो हुँदो रहेछ । संयोगको कल्पना भरी अनेक सपनाको झोला भरिन थालेका थिए र म पनि बिस्तारै सङ्गत अनुसार परिवर्तन हुँदै थिए ।त्यति नै बेला यस्तो भइदियो । संयोग पागल जस्तै बन्यो ।

शनिवारको दिन मन्दिर जानु र त्यही अनाथ आश्रम गएर केटाकेटीको लागि खानेकुरा , पुस्तक , कापी कलम वितरण गरेर भोलिपल्ट आइतबार क्याम्पस आउनु उसको सधैँको क्रम थियो तर त्यही दिन एक टिपरले बिहानै बाटो क्रस गर्दा शोयुषाको ज्यान नै लिएछ, छिनभरमै हामी सबैलाई छोडेर गई सधैँको लागि …… ।

त्यही दिन देखि हो संयोगको हुलिया फेरिएको …………..”सँगै हिँड्ने गल्ली छ ।समाउने हात छैन ।सङै बसेको मन्दिरको सत्तल छ ।सँगै बस्ने मान्छे छैन कति धेरै कुराहरू छन् सुनाउला भनेर राखेको अब कसलाई सुनाऊँ मैले – दर्शन मलाई यो जीवन बोझ लाग्न थालेको छ ।” संयोगको भक्कानोमा अँध्यारो संसार भन्दा अरू केही देखिएन ।म मौन भइदिए ।के बोल्ने – के मात्रै नबोल्ने – शब्द शब्दका गुच्चाहरू घाँटीसम्म आउँदै फर्किँदै गरे तर पनि बोले म ।”संयोग ” त साथी होस ।म त यसरी जिन्दगी देखि हारेको देख्न सक्तिन ।म तँलाई सम्झाउन पनि जान्दिन । फेरि कोही कसैले सम्झाएर पनि तँलाई खासै फरक पर्दैन । तैपनि साथीको दुःखमा मौन हुन सक्तिन यार ।” त जस्तो मान्छे यसरी जिन्दगी देखि हरेस खाएर हुन्छ यार – यो संसारमा तँलाई मात्रै यस्तो पीडा त होइन नि आखिर ।अब तैँले जीवनको क्रूर यथार्थलाई सहेर अगाडी बढ्नू पर्छ मेरो साथी ।टुक्रा टुक्रा वाक्य जोडेर भलाद्मी बन्न खोजे म।” अनि म के गरूँ – यो मनको घाउ कसरी मेटूँ – यो छटपटी , यो अत्यास म कसलाई कसरी सुनाऊ- भन न दर्शन त नै भन ।कति धेरै सपनाहरू थिए ।कति धेरै योजनाहरू ।सब बिचमा लथालिङ्ग पारेर उ गई ।सारा संसार आफूसङ लिएर गई । तँलाई के थाहा मलाई कति गाह्रो भा छ ।मेरा सारा निर्णय उ गर्थी ।स – साना कुरा पनि उसलाई नसुनाइरहन सक्दिनथे मैले ।अब म यो जिन्दगी कसरी बिताऊ ।कस लाई सु नाउ ।को सङ सोधूँ – हरेक पल उसको अभाव खट्किन्छ ।त नै भन मैले कसरी बिर्सूँ उसलाई ….।

मैले बिर्सी भनेको छैन यार ।जीवनको सबैभन्दा नजिक भएको मान्छेलाई कोही कसरी पो बिर्सन सक्छ र – अनि त भन्छस् नि शोयुषाले तँलाई छोडेर गई गलत हो ।तेरो हरपल हर श्वासमा छे उ ।त किन हरेक पल उसलाई सम्झिन्छस् – किनभने हरेक पल उ त सँगै छे ।उसलाई तै सँगै राख तेरो सम्झनाको सुट केशमा ।अनि एउटा हातले आँखाको आँसु पुछ्दै त अगाडी बढ साथी ।हामी बाँच्नेहरूलाई मर्नेहरूको सम्झना बोकेर जीवनयात्रामा हिँड्नुभन्दा अरू विकल्प नै के छ र -” मनमा अड्किएका सारा शब्दहरू पोखिदिए मैले ।फेरि उ भक्कानिँदै भन्छ “जहिल्यै आफूलाई छोडेर अरूबारे सोची रहन्थी…. । कति दुख्यो होला!! कति रोइकराई गरिहोली !!

मैले उसको अन्तिम श्वास लिइरहेको समयमा पानी समेत खुवाउन सकिन । मेरा आँखाहरू पनि त्रिशूली बनेका थिए ।मैले रोकिन साक्षी मात्रै बनिरहे ।कति बेला लाग्छ मरिदिऊ तर फेरि उसकै सम्झनाले सक्तिन ।थाहा छ एक दिन उसले के भनेकी थिई ? मैले जिज्ञासा सूचक बनाइदिए अनुहार । “मलाई सोधेकी थिई – म तिमी भन्दा छिट्टै मरे के गर्छौ – उसलाई थाहा रहिछ दर्शन उ मलाई छोडेर जान्छु भन्ने । त्यति बेला मैले भनेको थिए -” तिमीबिना मलाई यो संसार काम छैन म पनि मरिदिन्छु ।” अनि उसले के भनेकी थिई नि – मैले सोधे त्यही शब्दले त म मर्न पनि सक्तिन ।

उसले भनेकी थिई” त्यसो भए तिमिले मलाई माया नै नगर्ने रहेछौँ ।तिम्रो माया पनि त्यही अरूहरूको जस्तो देखावटी रहेछ ।साँचो माया गर्ने मान्छे मायालु मर्दैमा मर्दैन बुझ्यौ – उ त आफ्नो मान्छेको बाकी रहेको सपना पूरा गर्न बाँचिरहन्छ ।

जब म उसले भनेको यो कुरा सम्झिन्छु नि – मर्न पनि सक्तिन । अनि फेरि मौनता छायो हामी बिच । सायद म पनि गलिसकेको थिए । रुन चाहन्थे ।तर उसको अगाडी सकिन । आफैँलाई सम्हाले ।” सायद उसले ठिक भनेकी हो दर्शन , एक छिन रोकिएपछि बोल्यो संयोग !

“म उसले भनेजस्तै उसको बाकी सपना पूरा गर्न प्रयास गरौँला । उसले भनेजस्तै पढ्न नपाएका केटाकेटीलाई स्कुलहरूमा पढ्न केही सहयोग गरी पढ्न सजिलो वातावरण बनाउन सिङ्गो जीवन लगाउला। तर गाह्रो हुँदो रहेछ दर्शन , गाह्रो हुँदो रहेछ । उसले छोडिएका सम्झनाहरू छन् ।सपनाहरू छन् ।रहरहरू छन् ।सब थोक छन् । तर…उ छैन… । उफ् ! दर्शन सायद अब यस्तै गरी बाच्ने होला है ? हरेक दिन उसका सम्झनासँगै सपनाहरू दोहोर्‍याउनै । उसले कुन्नि के सोच्यो बरबराइरह्यो । असल मान्छे मरे तारा हुन्छ भन्छन् । शोयुषा असल थिई ।उ पनि तारा भई होली है ?

हरेक रात आकाशतिर फर्किन्छु र भन्छु; -” हेर शोयुषा म मरेको छैन । तिम्रो सपनाहरू पूरा गर्न म बाँचिरहेछु । म सङ्ग अरू कोही छैन । सबैभन्दा ठुलो सम्पत्ति तिमीसँग हुँदाका र तिमिले छोडी गएका अतीत सङै हरेक सम्झना पल हरेक धड्कनमा धड्किरहेको छ ।” अनि हातले अनुहार ढाकेर घोप्टो परिरह्यो उ । म मौन बसिरहेँ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै