काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु आरसीबीले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । आइपीएलको जारी सिजनअन्तर्गत केही समयअघि सम्पन्न खेलमा साविक विजेता आरसीबीले पाँच पटकको विजेता चेन्नईविरुद्ध ४३ रनको जित निकाल्यो ।
आईतबार भारतको चेन्नईस्थित एम चिन्नास्वामी रंगशालामा बैंगलुरुले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९.४ ओभरमा २०७ रन बनाउँदै अलआउट भयो । चेन्नईविरुद्धको खेलमा आरसीबीका भुवनेश्वर कुमारले तीन विकेट लिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पण्ड्याले समान दुई विकेट तथा सुयाष शर्माले एक विकेट लिए ।
चेन्नाईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाए । अर्धशतक बनाएका सरफराजले २५ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।प्रशान्त विरले ४३ रन जोडे । जेमी ओभर्टनले ३७, अविजित रहेका अन्सुल काम्बुजले १९ र शिभम दुवेले १८ रन बनाए पनि हार टार्न सकेनन् ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको आरसीबीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २५० रनको योगफल खडा गरेको थियो ।
आरसीबीको निम्ति टिम डेविडले ७० रनको अर्धशतकीय इनिङ खेले । डेविडले २५ बलमा तीन चौका र आठ छक्का प्रहार गरे । उनले चौथो विकेटको निम्ति कप्तान रजत पाटिदारसँग ९९ रनको अर्धशतकीय साझेदारी गरेका थिए । देवदत्त पाडिकालले पनि ५० रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।
कप्तान रजत पाटिदारले ४८, ओपनर फिल शाल्टले ४६ र विराट कोहलीले २८ रन बनाए । चेन्नईका अन्सुल काम्बुज, जेमी ओभर्टन र शिभम दुवेले समान एक विकेट लिएका थिए ।
जितसँगै आरसीबीले प्रतियोगितामा चार अंक जोडेको छ । हालसम्म दुई खेल खेलेको बैंलुरुले शत प्रतिशत जित निकालेको छ । पराजित चेन्नईको भने यो लगातार तेस्रो हार हो । तीन खेल खेलेको चेन्नाईले हालसम्म तालिकामा अंक जोड्न सकेको छैन ।