काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा पाकिस्तान र न्यूजील्याण्डबीचको पहिलो सुपर ८ खेल वर्षाका कारण रद्द भएको छ ।
पाकिस्तानका कप्तान सलमान आगाले शनिबार साँझ ६:३० बजे टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए तर, खेल सुरु हुनुभन्दा अगाडि नै वर्षा भएपछि खेल रद्द भएको हो ।
लगभग साढे दुई घण्टा पर्खिएपछि, म्याच रेफ्रीले खेल रद्द गर्ने निर्णय गरेका थिए । खेल रद्द भएसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । यो जारी टी-२० विश्वकपमा हालसम्म रद्द भएको दोस्रो खेल हो । यसअघि समूह चरणमा जिम्बाब्वे र आयरल्याण्डबीचको अघिल्लो खेल रद्द गरिएको थियो ।
अब सेमिफाइनलमा पुग्न दुवै टोलीले आफ्ना बाँकी दुई खेल जित्नुपर्ने छ । दुवै टोलीले इंग्ल्याण्ड र श्रीलंकासँग खेल्नेछन् । पाकिस्तानले अब फेब्रुअरी २४ मा इंग्ल्याण्ड र फेब्रुअरी २८ मा श्रीलंकासँग खेल्नु पर्नेछ । यदि पाकिस्तानले आफ्नो बाँकी खेलहरूमध्ये कुनै एक हारेमा, शीर्ष दुईमा रहन धेरै गाह्रो हुनेछ । न्युजिल्याण्डको लागि पनि त्यस्तै हो ।
सुपर ८ मा रहेका सबै टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । यसको अर्थ सुपर ८ मा रहेका प्रत्येक टोलीले अन्य तीन टोलीसँग एक पटक सामना गर्नेछ । पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र इङ्गल्याण्ड सुपर ८ को समूह २ मा छन् भने भारत, जिम्बाब्वे, दक्षिण अफ्रिका र वेस्ट इन्डिज समूह १ मा छन् । समूह चरणमा पाकिस्तान भारतसँग मात्र हारेको थियो भने न्युजिल्याण्डको एक मात्र हार दक्षिण अफ्रिकासँग भएको थियो ।
प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने छन् । दिउँसो ३:१५ मा श्रीलंका र इंग्ल्यान्डबीच पालकेले मैदानमा प्रतिस्पर्धा हुने कार्यतालिका रहेको छ। भने अर्को खेलमा भारतले दक्षिण अफ्रिकासँग अहमदाबादमा साँझ ७:१५ मा प्रतिस्पर्धा हुनेछ ।
सुपर-८ को दोस्रो खेलमा श्रीलंका र इङ्गल्याण्ड भिड्दै, वर्षाको खतरा

टी-२० विश्वकपको सुपर–८ चरण अन्तर्गत आज दोस्रो खेलमा आयोजक श्रीलंका र इङ्गल्याण्डबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह चरणमा दुवै टोलीले चारमध्ये तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सुपर–८ को यात्रा तय गरेका हुन्।
श्रीलंका आफ्नो अन्तिम समूह खेलमा जिम्बाब्वेसँग पराजित भएको थियो भने इङ्गल्याण्डलाई वेस्टइन्डिजले स्तब्ध पारेको थियो । खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई हेर्दा श्रीलंकाका पाथुम निसांका निकै उत्कृष्ट लयमा देखिन्छन्। उनी चार खेलमा १९९ रन बनाउँदै जारी प्रतियोगितामा टोलीका लागि सर्वाधिक रनकर्ता बनेका छन्।
बलिङतर्फ दुषन हेमन्थ ६ विकेटका साथ श्रीलंकाका मुख्य बलर रहेका छन् । अर्कोतर्फ, इङ्गल्याण्डका लागि ज्याकब बेथेलले सानदार ब्याटिङ गर्दै १४३ रन जोडेका छन् भने तीव्र गतिका बलर जोफ्रा आर्चरले ६ विकेटका साथ बलिङ आक्रमणको नेतृत्व गरिरहेका छन् ।
पाल्लेकेलेको पिच विशेषगरी स्पिनरहरूका लागि सहयोगी मानिन्छ। सुरुवाती ओभरमा तीव्र गतिका बलरलाई केही स्विङ प्राप्त भए तापनि मध्य ओभरमा स्पिनरहरू हाबी हुने सम्भावना छ । यो मैदानमा पहिले ब्याटिङ गर्ने टोलीले १७० रनसम्म बनाउन सके त्यसलाई बलियो योगफल मानिनेछ। यद्यपि, आजको खेलमा मौसमले मुख्य चुनौती खडा गर्न सक्ने देखिएको छ ।
क्यान्डीमा आज वर्षा हुने सम्भावना ६० देखि ८० प्रतिशतसम्म रहेकाले खेल अवरुद्ध हुन सक्ने वा ओभर छोट्याइन सक्ने अनुमान गरिएको छ ।