कास्की । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहारा क्लब प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो क्वाटरफाइनलको रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’सम्म पुगेको खेलमा ६–५ गोलले हराउँदै सहाराले अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिस क्लबले खेलको ४९औँ मिनेटमा कप्तान राम बाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६१औँ मिनेटमा सहाराले पेनाल्टी पायो । मुकुन्दकुमार निउरेले कुनै गल्ती नगरिकन गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा पुलिसका राम बाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक टिकेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेनडेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै टिकेन्द्रले टोलीलाई सेमिफाइनल पु¥याउन निर्णायक भूमिका खेले ।
पेनाल्टीमा सहाराका डिनियल बडारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, विक्की चामलिङ राई र शिसश थापाले गोल गरेका छन् । पुलिसका निरज खड्का, दशरथ गिरी, जोन विष्ट, विजय उराव, अमित टमाटा र सञ्जीव लामाले गोल गरेका हुन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सहाराका गोलरक्षक थापा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु १० हजारसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको आइतबार हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।
त्रिभुवन आर्मीलाई पराजित गर्दै मच्छिन्द्र क्लब सातौँ झापा गोल्डकपको फाइनलमा

चारपटकको विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विदेशी खेलाडी चम्किँदा मच्छिन्द्रले शनिबार अन्तिम सेमिफाइनलमा आर्मीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
मच्छिन्द्रको जितमा स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाले ह्याट्रिक गर्न भ्याए । मच्छिन्द्रले उपाधिका लागि सोमबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो । मच्छिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरेका थिए । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।
खेलको २४औँ मिनेटमा मच्छिन्द्रले पेनाल्टी पाएको थियो । जोरिल्लाको फ्रि–किक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मच्छिन्द्रले पेनाल्टी पाएको हो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफ २ गोलले पछि परेको आर्मी दोस्रो हाफमा दबाबमा देखिन्थ्यो । तर, मच्छिन्द्रले खेलको ५२औँ मिनेटमा थप गोल थपेको थियो । आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा मिलाइदिएको पास बललाई जोरिल्लाले गोलपोस्टको दिशा दिएका थिए ।
खेलको अतिरिक्त समयमा मच्छिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपेका थिए । मैदानको मध्यभागमा पाएको बल आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा गोलमा परिणत गरेका थिए । मच्छिन्द्रसँगको खेलमा आर्मीको प्रदर्शन फितलो रह्यो । खेलको नवौँ मिनेटमा डिबक्समा रहेका आर्मीका नवीन लामाको फ्रि–हेडर बारमाथिबाट बाहिरिएको थियो । ७०औँ मिनेटमा दिनेश हेन्जनले बक्सभित्र पाएको बल सदुपयोग गर्न सकेनन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।