अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित: क्यानडा ६ विकेटले पराजित

काठमाडौँ । आगामी आईसीसी टी-२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । बिहीबार चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक) मा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

आशिफ र जोराको सानदार ब्याटिङ क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर आशिफ शेख र मध्यक्रमका ब्याटर सन्दीप जोराले उत्कृष्ट पारी खेले ।

आशिफ शेख: २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडेर रिटायर्ड आउट भए ।

सन्दीप जोरा: ३० बलमा ३ चौका र १ छक्काको मद्दतले ४४ रनको योगदान दिए ।

आशिफ र जोराबीच भएको ८४ रनको बलियो साझेदारी नै जितको मुख्य आधार बन्यो । अन्य ब्याटरमा गुल्शन झाले ३१ रन जोडे भने ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए । यस खेलमा कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले ९ र लोकेश बमले ५ रन बनाए ।

क्यानडाको इनिङ र नेपालको बलिङ

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ४१ रन बनाए भने श्रेयास मोभा ३८ रनमा अविजित रहे ।

नेपालका तर्फबाट बलिङमा कुशल भुर्तेल र सन्दीप लामिछानेले २–२ विकेट लिए भने नन्दन यादव र सोमपाल कामीले १–१ विकेट झारे ।

डेथ ओभरको चुनौती कायमै

जित निकाले पनि नेपालको ‘डेथ ओभर’ बलिङमा भने कमजोरी देखिएको छ । अन्तिम ओभरहरूमा नेपाली बलरहरू महँगा सावित हुँदा क्यानडाले अन्तिम ५ ओभरमा ५८ रन बटुलेको थियो  । यसअघि यूएईविरुद्धको पहिलो अभ्यास खेलमा पनि नेपालको डेथ ओभर बलिङ कमजोर देखिएको थियो, जसमा सुधार गर्नुपर्ने चुनौती टोली सामु छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै