काठमाडौँ । आइसिसी टी-२० विश्वकपको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले जितका साथ भ्रमणको अन्त्य गरेको छ। सिरिजका सुरुवाती दुई खेलमा पराजित भएको नेपालले शनिबार भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका ‘ए’ लाई ७ विकेटले पराजित गरेको हो।
खेलको संक्षिप्त विवरण
श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
ब्याटिङ: नेपालका लागि कुशल भुर्तेलले ४९ रनको उत्कृष्ट इनिङ्स खेले। आरिफ शेखले अविजित २४, दीपेन्द्रसिंह ऐरीले अविजित २२ र कप्तान रोहित पौडेलले १७ रन जोडे।
बलिङ: यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालका लागि स्पिनर शेर मल्लले घातक बलिङ गर्दै ४ विकेट लिए (४ ओभर, २० रन)। दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १-१ विकेट लिए।
अबको गन्तव्य: मुम्बई
श्रीलंकाको तयारी सकेर नेपाली टोली अब भारतको मुम्बई प्रस्थान गर्नेछ। मुम्बईमा नेपालले एमसीए प्रेसिडेन्ट ११ सँग तीनवटा अभ्यास खेल खेल्ने तालिका छ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा हुनेछ।
टी-२० विश्वकपमा नेपालको तालिका
यसपटक नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालका सबै चार खेलहरू मुम्बईमै हुनेछन्:
| विपक्षी टोली | मिति | समय (नेपाली) |
| इंग्ल्यान्ड | माघ २५ (फेब्रुअरी ८) | दिउँसो ३:०० बजे |
| इटाली | माघ २९ (फेब्रुअरी १२) | दिउँसो ३:०० बजे |
| वेस्ट इन्डिज | फागुन ३ (फेब्रुअरी १५) | बिहान ११:०० बजे |
| स्कटल्यान्ड | फागुन ५ (फेब्रुअरी १७) | राति ७:०० बजे |
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।