
काठमाडौँ। फिफा क्लब विश्वकपअन्तर्गत ब्राजिलियन क्लब फ्लुमिनेन्स र इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेका छन्।
गएराति फ्लोरिडाको क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको क्वाटरफाइनल खेलमा फ्लुमिनेन्सले साउदी अरेबियाको अल–हिलाललाई २–१ गोल अन्तरले पराजित गर्यो। यस्तै, लिङ्कन फाइनान्सियल फिल्डमा भएको अर्को क्वाटरफाइनल खेलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरासलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो।
आज बाँकी क्वाटरफाइनल खेलहरू
फिफा क्लब विश्वकप क्वाटरफाइनलअन्तर्गत आज राति पनि दुईवटा महत्त्वपूर्ण खेल हुँदैछन्।
आज राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिख बीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे मर्सिडीज बेन्ज स्टेडियममा हुनेछ।
अन्तिम क्वाटरफाइनल खेलमा रियल मड्रिड र बोरुसिया डर्टमन्ड नेपाली समयअनुसार राति पौने २ बजे मेटलाइफ स्टेडियममा खेल्नेछन्।
अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुनेछ।