
काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले जितका लागि ११४ रनको सामान्य लक्ष्य पाएको छ ।
मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा ११३ रन जोडेर अलआउट भयो ।
नेपालले समूह चरणमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । जुन २२ मा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।
बिहीबारको सेमिफाइनलमा हङकङलाई हराएपछि सिंगापुरले फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको थियो। अब नेपाल उपाधि जित्नका लागि ११४ रन बनाउनुपर्नेछ ।
एसीसी यू-१६ कप फाइनल: १२ ओभरमा नेपाललाई ६ विकेटको सफलता
अपराजित नेपाल, उपाधि जित्ने लक्ष्य
साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा छ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो। यता, हङकङलाई चार विकेटले पराजित गर्दै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको थियो।
प्रतियोगितामा नेपाल हालसम्म अपराजित छ। समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानविरुद्ध ९ विकेटको जित निकालेको थियो। त्यसैगरी, तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० रन र भुटानविरुद्ध २९८ रनको शानदार जित दर्ता गरेको थियो।
समूह चरणको पहिलो भेटमा सिंगापुरलाई हराएको नेपाल उच्च मनोबलका साथ उपाधि उचाल्ने दाउमा छ। सिंगापुर भने प्रतियोगिताको पहिलो हारको बदला फाइनलमा लिने रणनीतिमा हुनेछ।