
लिड्स । घरेलु टोली इङ्ल्यान्डले लिड्सस्थित हेडिङ्ली क्रिकेट मैदानमा भएको पहिलो टेस्टमा भारतलाई पाँच विकेटले हराएको छ। पाँचौँ तथा अन्तिम दिन इङ्ल्यान्डले आफ्नो दोस्रो पालीमा पाँच विकेट गुमाएर ३७३ रन बनाउँदै ३७१ रनको विजय लक्ष्य पार गरेको हो। यो शृंखला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको नयाँ सत्रको अंग हो। यस पहिलो टेस्टमा केही रोचक कीर्तिमानहरू पनि बनेका छन्।
पहिलो टेस्टमा बनेका केही प्रमुख कीर्तिमानहरू:
३७१ रनको लक्ष्य: टेस्ट क्रिकेटको इतिहासमा चौथो पालीमा इङ्ल्यान्डले पूरा गरेको यो दोस्रो ठूलो लक्ष्य हो। साथै, भारतविरुद्ध कुनै पनि टोलीले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य पनि हो। यसअघि सन् २०२२ मा एजबास्टनमा इङ्ल्यान्डले भारतले दिएको ३७८ रनको लक्ष्य पूरा गरेको थियो।
अन्तिम दिनमा ३५० रन : भारतविरुद्धको पहिलो टेस्टको अन्तिम दिन जितका लागि इङ्ल्यान्डले ३५० रन बनाउनु आवश्यक थियो। टेस्ट क्रिकेटको इतिहासमा अन्तिम दिन कुनै पनि टोलीले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो। यसअघि सन् १९४८ मा हेडिङ्लीमा इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाले ४०४ रनको विजयलक्ष्य पूरा गरेको थियो।
पाँच शतक बनाएर पनि हार: इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतका पाँच ब्याट्सम्यानले शतक बनाए (पहिलो पालीमा यशस्वी जैसवाल, कप्तान शुभमन गिल र ऋषभ पन्त; दोस्रो पालीमा ऋषभ पन्त र केएल राहुल)। टेस्ट क्रिकेटमा पाँच ब्याट्सम्यानले शतक बनाएर पनि हार भोग्ने भारत इतिहासकै पहिलो टोली बनेको छ। यसअघि सन् १९२८ मा मेलबर्नमा इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाले चारवटा शतक बनाएर पनि पराजित भएको थियो।
८३५ रन दुवै पालीमा: हेडिङ्लीमा खेलिएको यस टेस्टमा भारतले दुवै पालीमा गरेर कुल ८३५ रन बनायो। टेस्ट क्रिकेटको इतिहासमा केवल चौथो पटक यस्तो स्थिति सृजना भएको हो जहाँ कुनै पनि टोलीले ८३५ रन बनाउँदा पनि हारको सामना गर्नुपर्यो। यसअघि सन् २०१४ मा एडलेइडमा अस्ट्रेलियाविरुद्ध भारतीय टोलीले दुवै पालीमा ७५९ रन बनाउँदा पनि पराजित भएको थियो।
३५०+ रन चारवटै पालीमा: भारत र इङ्ल्यान्डबीचको पहिलो टेस्टको चारवटै पालीमा ३५० भन्दा बढी रन बन्यो। टेस्ट क्रिकेटको इतिहासमा यो केवल तेस्रो पटक भएको हो। यसअघि सन् १९२१ मा एडलेइडमा र सन् १९४८ मा हेडिङ्लीमा खेलिएको टेस्टमा चारवटै पालीमा ३५० भन्दा बढी रन बनेको थियो।
१६७३ रन कुल: हेडिङ्लीमा खेलिएको यो टेस्टमा दुवै टोलीले मिलेर कुल १६७३ रन बनाए। इङ्ल्यान्ड र भारतबीच खेलिएको टेस्टमा बनेको यो अहिलेसम्मकै सबैभन्दा बढी रन हो। यसअघि सन् १९९० मा म्यानचेस्टरमा भएको टेस्टमा कुल १११४ रन बनेको थियो, जुन बराबरीमा सकिएको थियो।
५औं पटक ३००+ रन चेज: हेडिङलीमा खेलिएको टेस्टमा चौथो पालीमा ३०० भन्दा बढी रनको लक्ष्य पूरा भएको यो पाँचौँपटक हो। यस स्टेडियममा इङ्ल्यान्डले ३७१ भन्दा बढी रनको लक्ष्य पूरा गर्दै भारतलाई हराएको यो दोस्रो पटक हो।
१४९ रन बेन डकेटको: चौथो पालीमा इङ्ल्यान्डका ब्याट्सम्यान बेन डकेटले १४९ रन बनाए। भारतविरुद्धको टेस्टमा चौथो पालीमा ब्याटिङ गर्दै इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। यसअघि सन् २०२२ मा एजबास्टनमा जो रुटले अविजित १४२ रन बनाएका थिए। बेन डकेटले बनाएको १४९ रन इङ्ल्यान्डका लागि कुनै पनि ओपनर ब्याट्सम्यानले चौथो पालीमा बनाएको दोस्रो ठूलो स्कोर पनि हो ।
१८८ रन ओपनिङ साझेदारी: इङ्ल्यान्डका लागि दोस्रो पालीमा ज्याक क्रावली र बेन डकेटले ओपनिङ विकेटका लागि १८८ रनको साझेदारी गरे। टेस्ट क्रिकेटको इतिहासमा चौथो पालीमा आएर कुनै पनि ओपनर ब्याट्सम्यानको जोडीले गरेको यो पाँचौँ ठूलो साझेदारी हो। चौथो पालीमा इङ्ल्यान्डका ओपनर ब्याट्सम्यानले गरेको भने यो दोस्रो ठूलो साझेदारी हो।
इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट जुलाई २ तारिखमा बर्मिङ्घममा शुरू हुनेछ। के यी कीर्तिमानहरू दोस्रो टेस्टमा पनि कायमै रहनेछन् वा नयाँ कीर्तिमान बन्नेछन्, त्यो हेर्न बाँकी नै छ ।