
अमेरिकामा जारी ३२ टोलीको प्रतियोगितामा १३० देशका समर्थक सहभागी; फिफा अध्यक्षद्वारा नयाँ इतिहास रच्ने भनाइ
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा जारी क्लब विश्वकपका लागि करिब १५ लाख टिकट बिक्री भएको छ । गत साता संयुक्त राज्य अमेरिकामा सुरु भएको ३२ टोली सम्मिलित यस प्रतियोगिताका लागि १३० देशका फुटबल समर्थकहरूले मङ्गलबारसम्म १५ लाख टिकट खरिद गरेको फिफाले जनाएको छ ।
“फिफा क्लब विश्वकप विश्वमञ्चमा नयाँ इतिहास रच्न, नयाँ उदीयमान खेलाडीलाई स्थान दिन र क्लब फुटबलका समर्थकलाई ठूलो मञ्चको अनुभूति दिलाउन आयोजना गरिएको हो,” फिफाका अध्यक्ष जियान्टी इन्फान्टिनोले एक विज्ञप्तिमा भनेका छन् ।
गत शुक्रबार संयुक्त राज्य अमेरिकाको मियामीस्थित आर्ड रक रङ्गशालामा उद्घाटन भएको प्रतियोगिताको उद्घाटन खेलमा ६० हजार दर्शक उपस्थित थिए। यसैगरी, गत आइतबार रोज बल रङ्गशालामा पेरिस सेन्ट जर्मन (पीएसजी) र एट्लेटिको मड्रिडबीच सम्पन्न खेलमा ८० हजार समर्थक सहभागी भएका थिए ।
प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।