प्रतिनिधि सभा निर्वाचन खर्च ५ अर्ब ३७ करोड: प्रतिमतदाता औसत २८४ रुपैयाँ लागत

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले बिहीबार (चैत ५) आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् ।

आयोगका अनुसार, निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । जसमध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी दायित्वसहित कुल खर्च ५ अर्ब ३७ करोड पुग्ने देखिएको छ ।

मितव्ययिता र प्रतिमतदाता लागत:

आयोगले यस पटकको निर्वाचनलाई विगतको तुलनामा निकै मितव्ययी ढङ्गले सम्पन्न गरेको दाबी गरेको छ । कुल मतदाता सङ्ख्या र खर्चको अनुपातलाई हेर्दा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको छ।

खर्च घटाउन अपनाइएका उपायहरू:

पुराना सामग्रीको प्रयोग: आयोगले नयाँ सामग्री खरिद गर्नुको सट्टा गोदाममा रहेका पुराना निर्वाचन सामग्रीहरूलाई पुनः प्रयोगमा ल्याएको थियो।

स्थानीय खरिद: ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्रीहरू प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरी ढुवानी खर्च कम गरिएको छ ।

पारदर्शिता: सरकारी स्वामित्वका सङ्गठित संस्थाहरूबाट मात्र सामग्री खरिद गरी प्रक्रियालाई पारदर्शी बनाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

आयोगले निर्वाचन सफल पार्न सहयोग गर्ने सरकार, सुरक्षा निकाय, कर्मचारी र मतदाताहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै