काठमाडौँ । निर्वाचन आयोगले आज (बिहीबार) बेलुका ४ बजे निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । राष्ट्रपति निवास सितल निवासमा आयोगका कार्यबहाक अध्यक्ष रामप्रसाद भण्डारी सहितका पदाधिकारीले बेलुका ४ बजे राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउन लागेका हुन् ।
प्रत्यक्ष तर्फको १६५ जना र समानुपातिक तर्फको ११० जनाको निर्वाचन परिणाम आयोगले राष्ट्रपतिलाई बुझाउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समानुपातिक तर्फका सांसदलाई प्रमाणपत्र बुझाइ सकिएकाले अब परिणाम बुझाउने मात्रै बाँकी रहेको हो ।
राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि आयोगले साढे ५ बजे पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण अवस्थाका बारेमा जानकारी दिने भएको छ । त्यसपछि राष्ट्रपति संसद आह्वान गरेपछि संसद बैठक बस्ने प्रावधान छ ।
संसदको ज्येष्ठ सदस्यले सपथ खुवाएपछि दलको नेता चयनको प्रक्रियामा जाने भएको छ । त्यसपछि संसदको सबैभन्दा ठुलो पार्टीको संसदीय दलको नेतालाई राष्ट्रपति प्रधानमन्त्री नियुक्त गर्ने छन् ।
अबको केही दिनभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको पदमा आशिन हुने छन् ।