सिरहा-१ कांग्रेसमा अन्तरघातको आरोप: पूर्वमन्त्री चौधरीसहित ११ जनालाई कारबाही सिफारिस

लहान (सिरहा) । नेपाली कांग्रेस सिरहा–१ क्षेत्रीय कार्यसमितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध ‘अन्तरघात’ गरेको ठहर गर्दै ११ जना नेता–कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

कारबाहीको सिफारिसमा पर्नेहरूमा पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम नारायण चौधरी सहितका प्रभावशाली नेताहरू रहेका छन् । उनीहरूलाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिहरू:

क्षेत्रीय कार्यसमितिको बैठकले देहायका नेताहरूलाई कारबाहीको माग गरेको छ:

पदम नारायण चौधरी: पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य

सन्तोष चौधरी: महाधिवेशन प्रतिनिधि

गौरी चौधरी: महाधिवेशन प्रतिनिधि

अजय चौधरी: जिल्ला अध्यक्ष, नेपाल थारू संघ

मुकेश महतो: क्षेत्रीय सहसचिव

आनन्द चौधरी: अध्यक्ष, नेपाल लोकतान्त्रिक खेलकुद संघ

रामगणेश दास: जिल्ला सदस्य

कन्हैयाप्रसाद गुप्ता र गोपालकृष्ण यादव: क्षेत्रीय सदस्यहरू

अम्बराज मिश्र र विनोद साह: बुथ सभापतिहरू (लहान–१० र २०)

कारबाहीको कारण

सिरहा-१ बाट नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्तासँग पराजित भएका थिए । पराजित उम्मेदवारलाई सहयोग गर्नुको साटो विपक्षी दलहरू रास्वपा, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याएको क्षेत्रीय कार्यसमितिको ठहर छ । पार्टीको आधिकारिक उम्मेदवार हराउन सक्रिय भूमिका खेलेको भन्दै उनीहरूमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

क्षेत्रीय समितिको यो सिफारिस अब जिल्ला कार्यसमिति हुँदै केन्द्रमा जानेछ। केन्द्रीय अनुशासन समितिले यसबारे अन्तिम अध्ययन गरी कारबाहीको अन्तिम निर्णय गर्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै