नेपाली कांग्रसका थप दुई उम्मेदवार विजयी

रौतहट-२ मा मो. फिरदोश आलम र बाजुरामा जनकराज गिरी विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेपाली कांग्रेसले थप दुई स्थानमा जित हासिल गरेको छ । कांग्रेसले रौतहट- २ र बाजुरामा जित निकालेको हो ।

रौतहट-२ का कांग्रेस उम्मेदवार मो. फिरदोश आलम  निर्वाचित भएका हुन् । आलम २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।  उनी ११ हजार ८६ को भारी मतान्तर सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत ल्याएका छन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा होमिएका शेख सगीरले ९,३२५ मत तथा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामअशिष राय यादवले २,९६० मत ल्याए । नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे ।

यस क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । जसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

उता एउटा मात्र क्षेत्र रहेको बाजुरामा पनि कांग्रेसका जनकराज गिरी ५४० मतान्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार गिरीले कुल १७,१७३ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६,६३३ मत मात्र प्राप्त गरे ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा होमिएका हेमराज थापा ६,०३५ तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाशबहादुर शाह ३,४२८ मतमा सीमितत रहे ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे । यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै