भ्रामक सूचना र ‘फेक भिडिओ’ विरुद्ध गगन थापाको कडा निर्देशन: “देख्नेबित्तिकै रिपोर्ट गर्नुहोस्”

मौन अवधिमा कांग्रेस उम्मेदवारविरुद्ध सुनियोजित आक्रमण भएको सभापतिको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मुखमा पार्टी र उम्मेदवारहरूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र ‘हेरफेर गरिएका’ (Edited) भिडिओहरूबारे कार्यकर्तालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । मंगलबार साँझ एक अपिल जारी गर्दै उनले त्यस्ता सामग्रीलाई तत्काल ‘रिपोर्ट’ गर्न आग्रह गरेका हुन् ।

सभापति थापाका आग्रहहरू:

तुरुन्तै रिपोर्ट गर्नुहोस्:

फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्ममा कांग्रेसका उम्मेदवार वा पार्टीबारे कुनै पनि फेक सामग्री, असत्य कथा वा भ्रामक भिडिओ देख्नेबित्तिकै रिपोर्ट गर्न उनले निर्देशन दिएका छन् ।

सत्यता जाँच (Fact Check):

कुनै पनि सामग्री सेयर गर्नुअघि एकछिन रोकिएर त्यसको आधिकारिकता जाँच्न उनले अपिल गरेका छन् । “अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्छन्,” सभापति थापाले भनेका छन्।

लोकतन्त्रमाथिको प्रहार:

मौन अवधिमा गरिने यस्ता क्रियाकलाप निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिकै आक्रमण भएको उनको ठहर छ ।

यस्तै कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पनि आजै एक विज्ञप्ति जारी गर्दै भ्रामक सूचना सम्प्रेषण गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न निर्वाचन आयोग र सुरक्षा निकायसँग माग गरेका छन् ।

निर्वाचनको परिणामलाई प्रभावित पार्ने उद्देश्यले प्रविधिको दुरुपयोग गरी ‘डीपफेक’ वा ‘मिसइन्फर्मेसन’ फैलाउने कार्य बढेपछि कांग्रेसले आफ्ना कार्यकर्तालाई डिजिटल माध्यममा ‘सचेत सैनिक’ का रूपमा प्रस्तुत हुन आह्वान गरेको हो ।

May be an image of text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै