सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको रक्षा गर्ने नाममा पुराना दलहरूले ‘एकाधिकार’ जमाउन खोजेको आरोप लगाएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्र कुनै खास नेता वा पार्टीको पेवा नभएको बताएका हुन् ।
‘लोकतन्त्र खतरामा पर्यो, हामी जोगाउँछौँ भनेर कसैले ठेक्का लिनु पर्दैन । जनता जागेपछि लोकतन्त्र आफैँ बलियो हुन्छ,’ लामिछानेले भने । कर्णालीले विगतमा हिंसात्मक द्वन्द्वको ठुलो पीडा भोगेको स्मरण गर्दै उनले परिवर्तनका लागि सडकको आन्दोलन नभई निर्वाचनको बाटो रोज्न आग्रह गरे । उनले भने, ‘अब रोडबाट होइन, भोटबाट भाग्य बदल्ने बेला आएको छ ।’
आगामी फागुन २१ गते हुने निर्वाचन केवल मतदान मात्र नभई नेपाललाई विश्वसामु चिनाउने एउटा ‘राष्ट्रिय अवसर’ भएको उनको दाबी छ ।
राजनीतिक सन्दर्भ: गगन थापा भर्सेस रवि लामिछाने
यो सम्बोधनलाई कांग्रेस सभापति गगन थापाले हालै सार्वजनिक गरेका ‘प्रतिज्ञा पत्र’ र उनले अघि सारेको ‘लोकतन्त्र र सुशासन’ को भाष्यप्रतिको काउन्टरका रूपमा हेरिएको छ । सभापति थापाले कांग्रेसले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने दाबी गरिरहँदा लामिछानेले भने ‘पुराना दलको सटर बन्द हुने’ समय आएको भन्दै तीब्र कटाक्ष गरेका हुन् ।
लामिछानेले पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि रास्वपाको पक्षमा स्पष्ट जनादेश दिन आग्रह गर्दै प्रतक्ष्य र समानुपातिक दुबै ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे । ‘उत्तर धेरैले दिए, अब समाधान दिने समय हाम्रो हो,’ उनले सम्बोधनको अन्त्यमा भने ।