प्युठान । तत्कालीन माओवादी जनयुद्धका घाइते एवं पूर्वमन्त्री कृष्णध्वज खड्का यतिबेला प्युठानको चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खड्का शरीरमा जनयुद्धकालीन सैन्य यातनाको चोट, रड र तार बोकेरै जिल्लाका ९ पालिकाका ६४ वटै वडामा पुगिइरहेका छन् ।
हिरासतको त्यो कठोर समय
खड्का र उनकी धर्मपत्नी एवं पार्टी नेतृ रेखा शर्मा २०५८ सालमा काठमाडौँबाट गिरफ्तार परेका थिए । ‘कठोर यातनासहित कहाँ–कहाँ पुर्याइयो थाहा भएन, बर्दबहादुर गणबाट एक वर्षपछि मात्र छुट्यौँ,’ खड्का सम्झन्छन् । सोही समयको कठोर शारीरिक यातनाका कारण उनको कम्मर र करङको हड्डी फ्याक्चर भएको थियो । अहिले पनि उनको हातमा रड र दायाँ खुट्टामा तार बाँधिएको छ । उनी यसलाई ‘नाफाको जिन्दगी’ भन्दै जनताको सेवामा समर्पित गर्ने बताउँछन् ।
राजनीतिक पृष्ठभूमि र ‘प्रचण्ड’ का विश्वासपात्र
विसं २०३५/३६ सालको जनमत संग्रहदेखि राजनीतिमा जोडिएका खड्का २०५१ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बनेका थिए । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको अत्यन्त निकट र विश्वासपात्र मानिन्छ । शान्ति प्रक्रियाका क्रममा दरबार र अन्य दलसँगको वार्तामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
विसं २०७४ को निर्वाचनमा प्रदेश सभामा विजयी भएका खड्का लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रीसमेत बनेका थिए । आफ्नो कार्यकालमा प्युठानमा ६२ वटा साना-ठुला योजना पुर्याएको उनको दाबी छ ।
प्युठानको चुनावी समीकरण
नेकपाका केन्द्रीय सदस्य मिलन एमसी कृष्णध्वज खड्काको उम्मेदवारीले प्युठानमा २०६४ सालको जस्तै विरासत फर्किने दाबी गर्छन् । यद्यपि, प्युठानको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिन्छ । खड्कासँग नेकपा एमालेका तर्फबाट सूर्य थापा चुनावी मैदानमा छन् । उनी घरदैलोका क्रममा स्थानीयसँग घुलमिल हुँदै मत मागिरहेका छन्।
यसैगरी नेपाली कांग्रेसबाट डा. गोविन्द पोखरेल उम्मेदवार छन् । पार्टीभित्रको आन्तरिक समन्वय र रास्वपासँगको चर्चाकाबीच उनी आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।
यसै क्षेत्रमा राष्ट्रिय जनमोर्चाबाट तिलक जी.सी. र रास्वपाका सुसान्त वैदिक उम्मेदवार छन् । जनमोर्चाको बलियो प्रभाव क्षेत्र मानिने प्युठानमा यसपटक उनीहरूको उपस्थिति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावले पनि चुनावी नतिजामा असर पार्ने देखिन्छ। नेकपा (माओवादी केन्द्र)बाट सीता विक (सम्झना), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित लगायतले उम्मेदवारी दर्ता गरेका छन् । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानमा १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको मुद्दालाई खड्काले मुख्य चुनावी एजेन्डा बनाएका छन् । जनयुद्धका योद्धाको छवि र विकासप्रेमी नेताको पहिचानका साथ चुनावी घरदैलोमा रहेका खड्कालाई अन्य उम्मेदवारहरूले प्रमुख चुनौतीका रूपमा लिएका छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धन उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजयी भएकी थिइन् । २०७९ सालको निर्वाचनमा एमाले नेता सूर्य थापाले जित निकाले । विगतका निर्वाचनमा गठबन्धनको अभ्यास हुँदै आएको यस जिल्लामा यसपालि भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।