काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको मिति केही समय पछाडि धकेल्न प्रस्ताव गर्नुभएको छ। बिहीबार प्रधानमन्त्रीसँगको भेटका क्रममा ओलीले यस्तो आग्रह गरेको उच्च स्रोतको दाबी छ।
प्रधानमन्त्रीलाई भेट्न समय मागेर पुगेका ओलीले करिब ३० मिनेट संवाद गरेका थिए । सर्वोच्च अदालतको आदेश र निर्वाचन तयारीको प्राविधिक पक्षलाई कारण देखाउँदै ओलीले चुनावी मितिप्रति चासो व्यक्त गरेको बताइएको छ । अदालतको फैसला आउन ढिलाइ भएकोमा रुष्ट देखिएका ओलीले वर्तमान राजनीतिक अन्योलता चिर्न निर्वाचनको वातावरण अझै परिपक्व हुनुपर्नेमा जोड दिएका छन् ।
आफ्नै गृहजिल्ला झापाका कार्यकर्ताहरूसँग बुधबार कुराकानी गर्दै ओलीले फागुन २१ को निर्वाचनप्रति पूर्ण विश्वस्त नरहेको संकेत गरेका थिए । उनले ुसम्भवतःु सो मितिमा चुनाव हुने बताएको भोलिपल्टै प्रधानमन्त्रीलाई भेटेर मिति सार्ने प्रस्ताव गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । यसपटक सो क्षेत्रमा युवा उम्मेदवारहरूको चुनौती र बदलिँदो राजनीतिक समीकरणका कारण पनि निर्वाचनको तयारी र मितिप्रति दलहरू निकै संवेदनशील देखिएका छन् । उक्त क्षेत्रमा ओलीलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्।