रास्वपा उम्मेदवार खरेललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले दोलखाबाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ।

आयोगले खरेललाई पत्र लेख्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको हो। माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने क्रममा खरेलले निर्वाचन आचारसंहिता, २०८२ को धज्जी उडाएको भन्दै प्राप्त उजुरीका आधारमा पत्र काटिएको आयोगले जनाएको छ। आयोगमा प्राप्त श्रव्यदृश्य (भिडियो) सामग्रीसहितको उजुरीमा खरेलले मनोनयनका क्रममा शक्ति प्रदर्शन गर्दै ठूलो संख्यामा जुलुस निकालेको दाबी गरिएको छ।

आयोगका कानून अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा भनिएको छ, ‘आचारसंहिताले तोकेको २५ (पच्चीस) जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको र दलको झण्डाको प्रयोगमा आचारसंहिताको प्रतिकूल हुने कार्य गरेको देखिने श्रव्यदृश्य सामग्रीसहित उजुरी प्राप्त भएको छ।’

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ङ) र (ण) मा राजनीतिक दल वा उम्मेदवारले मनोनयनका क्रममा अपनाउनुपर्ने कार्यविधि र सीमाहरू स्पष्ट तोकिएका छन्। आचारसंहिता अनुसार मनोनयनमा जाँदा २५ जनाभन्दा बढी सहभागी हुन पाइँदैन। तर, खरेलले उक्त सीमा नाघेर जुलुस निकालेको र दलको झण्डाको समेत अनधिकृत प्रयोग गरेको आयोगको ठम्याई छ।

आयोगले खरेललाई सोधेको छ, ‘तपाईंले आचारसंहिता विपरीतका कार्य गर्नुभएको हो वा होइन? यदि गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानून बमोजिम कारबाही किन नगर्ने?’

उम्मेदवार खरेलले यो पत्र प्राप्त भएको मितिले ३ (तीन) दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा स्पष्टीकरण बुझाउनुपर्नेछ। तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा वा जवाफ चित्तबुझ्दो नभएमा आयोगले उनको उम्मेदवारी खारेज गर्नेदेखि आर्थिक जरिवानासम्मको कारबाही गर्न सक्ने कानूनी प्रावधान रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै