काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनको औपचारिक प्रक्रिया आज (शनिबार) देखि सुरु गर्दैछ । केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयअनुसार महाधिवेशनको कार्यतालिका कार्यान्वयनका लागि कांग्रेसले आजदेखि संगठनात्मक गतिविधि अगाडि बढाउन लागेको हो ।
गत १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी १६–१९ असोजमा १५औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो । सोही कार्यतालिका अनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट वडा तहसम्म सदस्यता फारम पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तयारी गरिएको छ ।
कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई आज ‘ओरेन्टेसन’ (अभिमुखीकरण) दिँदैछ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधिहरूका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
कांग्रेसले निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूको नामावली भने अहिलेसम्म सार्वजनिक गरेको छैन । कार्यवाहक मुख्यसचिव दुलालले अभिमुखीकरणपछि मात्रै प्रतिनिधिहरूको नाम सार्वजनिक गरिने जानकारी दिए । “आज दिउँसो २ बजे प्रतिनिधिहरूका लागि अभिमुखीकरण छ, त्यसपछि नामावली सार्वजनिक गर्छौं,” उनले भने, “साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटिने गरी व्यवस्था मिलाइएको छ।”
महाधिवेशनको यस्तो छ कार्यतालिका:
१–३० वैशाख: देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने।
१५ जेठसम्म: वडाहरूले क्रियाशील सदस्यताको विवरण प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्ने।
२५ जेठसम्म: क्षेत्र र जिल्लाले सदस्यताको ‘इन्ट्री’ गरेर केन्द्रमा पठाइसक्नुपर्ने।
१५ असारसम्म: केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी अन्तिम टुङ्गो लगाउने।
असार मसान्तसम्म: अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने।
कार्यतालिका अनुसार सदस्यता अद्यावधिकका लागि कांग्रेसले वैशाख महिनाभर देशभर ‘सदस्यता अद्यावधिक अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ ।