प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोज पत्रकार एवं लेखक दिपा दाहाल नियुक्त भएकी छन् । ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ बमोजिम दाहाललाई शुक्रबार उक्त पदमा नियुक्त गरिएको हो ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन् । उनले प्रधानमन्त्रीको सञ्चार रणनीति तर्जुमा, मिडिया समन्वय र अनुसन्धानका क्षेत्रमा विज्ञको भूमिका निर्वाह गर्नेछिन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको लामो अनुभवलाई सरकारको काममा उपयोग गर्ने उद्देश्यले यो नियुक्ति गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन गरी पत्रकारिताका सबै विधामा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी पछिल्लो समय ‘उकालो डटकम’ मा वरिष्ठ संवाददाताका रूपमा खोज पत्रकारितामा संलग्न थिइन् ।

पत्रकारिताका साथै प्राज्ञिक क्षेत्रमा समेत दख्खल राख्ने दाहाल विगत सात वर्षदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएकी छिन् । उनी सञ्चार सीप र ‘अथेन्टिक लिडरसिप’ (मौलिक नेतृत्व) की प्रशिक्षक समेत हुन् ।

‘कोभिड: नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखक दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै