काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेको पदाधिकारीलाई राजनीनामा दिन आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो सरकारले गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
‘सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह गर्दछु,’ लामिछानेले भने ।
हामीमाथि चौबिसै घण्टा निगरानी गर्नू
रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ।
‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’
साथै, उनले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने बताए । ‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ । हामीले त्यो देखाउनुछ,’ उनले भने ।