एमाले संसदीय दलको नेतामा बादल चयन, १७ सिटसहित प्रचण्ड चौथो शक्ति

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सर्वसम्मत चयन भएका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई नेता चयन गरेको निर्वाचन संयोजक निरज आचार्यले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा पराजित भएको र हाल हिरासतमा रहेको विशेष परिस्थितिबीच एमालेले बादललाई अघि सारेको हो । दलको नेताका लागि सुहाङ नेम्वाङ र राजेन्द्र राईले पनि दाबी गरे तापनि अन्ततः बादलको नाममा सहमति जुटेको थियो । २५ सांसदसहित एमाले संसदमा तेस्रो ठुलो दल बनेको छ ।

प्रचण्ड १७ सिटमा खुम्चिए

यता, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ (नेकपा) १७ सांसदसहित चौथो दल बनेको छ । माधव नेपाल नेतृत्वको पार्टीसँग एकता गरी बनेको यस दलको नेतामा प्रचण्ड यसअघि नै चयन भइससकेका छन् । कुनै समय पहिलो शक्तिको रूपमा रहेको प्रचण्डको राजनीतिक शक्ति यस निर्वाचनपछि चौथो स्थानमा खुम्चिएको छ ।

प्रचण्ड र बादल: जनयुद्धदेखि संसदीय प्रतिष्पर्धासम्म

लामो समय सहकार्य र पटक-पटकको विभाजन बेहोरेका प्रचण्ड र बादलको राजनीतिक यात्रा रोचक मोडमा आइपुगेको छ:

सहकार्य: जनयुद्धकालमा दुवै नेता एउटै पार्टीको शीर्ष नेतृत्वमा थिए ।

विभाजन: २०६९ सालमा बादलले प्रचण्डको साथ छोडेर मोहन वैद्यसँग मिलेर विद्रोह गरेका थिए ।

पुनर्मिलन र फेरि दूरी: २०७३ मा बादल पुनः प्रचण्डसँग जोडिए तर, नेकपाको विभाजनपछि उनले प्रचण्डलाई छोडेर ओलीको साथ रोजे ।

राजनीतिक विश्लेषण

कुनै समय प्रचण्डकै छहारीमा रहेका बादल अहिले २५ सांसदको नेतृत्व गर्दै संसदमा प्रचण्डभन्दा ठुलो दलको नेता बनेका छन् । एमालेको दोस्रो तहको नेतृत्व सम्हाल्दै आएका बादलको राजनीतिक उचाइ यो चयनसँगै थप बढेको देखिन्छ । अर्कोतर्फ, १७ सिटमा सीमित प्रचण्डका लागि यो निर्वाचन परिणाम रक्षात्मक बनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै