काठमाडौँ । ओली–लेखक पक्राउपछिको विकसित घटनाक्रम र देशको सुरक्षा अवस्थाबारे गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग ब्रिफिङ लिएका छन्।
शनिबार साँझ गृहमन्त्रालयमा बसेको छलफल बसेर सकिएको हो । गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायत सुरक्षा निकायका प्रमुख अधिकारीहरूसँग गृहमन्त्रालयमा छलफल गरेका हुन्।
गृहमन्त्रालय स्रोतका अनुसार दिनभर विकसित घटनाक्रम, प्रदर्शनको अवस्था र समग्र सुरक्षा चुनौतीबारे जानकारी लिन गृहमन्त्रीले उक्त बैठक बोलाएका थिए ।
सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शनिबार बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको पक्राउसँगै काठमाडौँ सहित देशका विभिन्न स्थानमा दिनभर प्रदर्शन जारी रह्यो । काठमाडौँ का केही क्षेत्रमा अवस्था केहीबेर तनावग्रस्त समेत बनेको थियो ।