ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक बस्दै, देशव्यापी आन्दोलनको तयारी

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केही बेरमा सुरु हुने बैठकमा सहभागी हुन पार्टीका शीर्ष नेताहरू पुगिसकेका छन् ।

बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ ठहर गर्दै देशभर सडक आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ ।

पक्राउ र कानुनी आधार

आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको मृत्यु भएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सरकारले जनाएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलगत्तै प्रहरीले यो कदम चालेको हो।

एमालेको कडा प्रतिक्रिया

एमाले सचिव महेश बस्नेतले सरकारको यो कदम लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। उनले भने, “यो पक्राउ विशुद्ध प्रतिशोधपूर्ण र पूर्वाग्रहबाट प्रेरित छ। देशलाई द्वन्द्वतर्फ धकेल्ने यो सरकारको हर्कतविरुद्ध हामी आजैदेखि सडकमा उत्रिन्छौं।”

ओली र लेखक पक्राउको विरोधमा एमाले सडकमा, ‘प्रतिशोधको राजनीति’ भएको महेश बस्नेतको दाबी

सचिवालय बैठक अघि नै एमालेका भ्रातृ संगठनहरूलाई देशभर प्रदर्शनका लागि निर्देशन दिइएको छ। नेताहरूका अनुसार बैठकले सरकारको कदमको कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने रणनीति तय गर्नेछ।

ऐतिहासिक घटना

नेपालको इतिहासमा फौजदारी अभियोगमा पूर्वप्रधानमन्त्री पक्राउ परेको यो पहिलो पटक हो। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले भने “कोही पनि कानुनभन्दा माथि नभएको र यो न्यायको सुरुवात भएको” दाबी गरेका छन्। ओलीलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ र स्वास्थ्य परीक्षणपछि अदालत लैजाने तयारी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै