शङ्खनाद र स्वस्तिवाचनबीच बालुवाटार सरे प्रधानमन्त्री बालेन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) धार्मिक विधिअनुसार पूजापाठ गरी सरकारी निवास बालुवाटार सरेका छन् । शुक्रबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनी साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री शाहले बालुवाटार प्रवेश गर्नुअघि विशेष पूजाआजा गरेका थिए । सो अवसरमा वैदिक र बौद्ध दुवै परम्पराअनुसार मङ्गल पाठ गरिएको सरकारी निवासका कर्मचारीहरूले जनाएका छन् ।

शपथमा देखियो सांस्कृतिक रङ

यसअघि शुक्रबार मध्याह्न राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोह निकै भिन्न र सांस्कृतिक देखिएको थियो । प्रधानमन्त्री शाहले शपथ लिइरहँदा सातवटा शङ्खबाट शङ्खनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन गरेका थिए । साथै, १०८ बौद्ध भिक्षु (लामा) हरूले मङ्गल पाठ गरी नयाँ सरकारको सफल कार्यकालको कामना गरेका थिए ।

सुशीला कार्कीको बिदाइ

नयाँ प्रधानमन्त्रीको आगमनसँगै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छोडेकी छन् । उनी मध्याह्न शपथ ग्रहण समारोहमा सहभागी भई सिधै धापासीस्थित आफ्नो निजी निवास सरेकी हुन् ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेसँगै अब उनको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद्ले कार्यभार सम्हालेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै