काठमाडौँ । विश्व राजनीतिमा बढ्दो युद्ध र अस्थिरताले नेपाली वैदेशिक रोजगारीको भविष्य अन्योलमा परेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कमान्ड महोत्तरीका ३४ वर्षीय युवा दीपककुमार साहको काँधमा आइपुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी–२ मा निर्वाचित साहले १९ पटक मन्त्री भइसकेका अनुभवी राजनीतिज्ञ शरतसिंह भण्डारीलाई पराजित गर्दै संसद् र अब मन्त्रालयको यात्रा तय गरेका हुन् । उनकै प्रतिस्पर्धी भण्डारी ‘जेन–जी’ आन्दोलन अगाडिसम्म सोही मन्त्रालयको नेतृत्वमा थिए ।
नवनियुक्त मन्त्री साहका अगाडि केवल मन्त्रालय चलाउने मात्र होइन, संकटोन्मुख श्रम क्षेत्रलाई रूपान्तरण गर्ने ठूलो चुनौती छ । उनका मुख्य ५ कार्यभार र चुनौतीहरू यसप्रकार देखिन्छन्:-
१. वैदेशिक रोजगारीको विविधीकरण र सुरक्षा
दैनिक दुई हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गइरहेको वर्तमान अवस्थामा नयाँ र सुरक्षित श्रम गन्तव्यको खोजी गर्नु साहको पहिलो प्राथमिकता हुनुपर्छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको उद्धार, राहत प्रणालीको सुदृढीकरण र द्विपक्षीय श्रम सम्झौताको पुनरावलोकन उनीसामु रहेका जटिल कार्य हुन् ।
२. ठगी नियन्त्रण र पारदर्शी सेवा
वैदेशिक रोजगारीमा जाने श्रमिकको लागतलाई पारदर्शी बनाउने, म्यानपावर व्यवसायीका नाममा हुने ठगी नियन्त्रण गर्ने र सेवा प्रवाहलाई पूर्णतः प्रविधिमैत्री (डिजिटल) बनाउने अपेक्षा युवाहरूले गरेका छन् ।
३. फर्किएका श्रमिकको पुनःएकीकरण
विदेशबाट सीप र पूँजी लिएर फर्किएका युवालाई स्वदेशमै उद्यमी बनाउनु रास्वपाको नीतिगत प्राथमिकतामा छ। तर, यसका लागि शिक्षा, अर्थ र कृषि मन्त्रालयसँगको समन्वय सधैँ कमजोर देखिने गरेको छ। यो ‘अन्तर-मन्त्रालय’ खाडल पुर्नु साहका लागि अग्निपरीक्षा हुनेछ ।
४. आन्तरिक रोजगारी र स्वरोजगार
परम्परागत पेशा, हस्तकला र पर्यटनलाई रोजगारीसँग जोड्ने रास्वपाको महत्वाकांक्षी योजना छ। सहकारीमार्फत सामूहिक खेती र सहुलियत ऋणको पहुँच विस्तार गरी गाउँमै रोजगारी सिर्जना गर्ने योजनालाई कागजबाट व्यवहारमा उतार्नुपर्ने चुनौती छ ।
५. नीतिगत सुधार र एकीकृत तालिम
श्रम र रोजगार नीतिलाई स्पष्ट रूपमा छुट्ट्याउने, श्रम बजारको वास्तविक तथ्यांक संकलन गर्ने र छरिएर रहेका सीप विकास तालिमहरूलाई ‘एउटै छानामुनि’ ल्याएर मागअनुसारको जनशक्ति उत्पादन गर्ने रणनीति उनले कार्यान्वयन गर्नुपर्नेछ ।