काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बन्न लागेकी सीता, सीमान्तकृत ‘वादी समुदाय’ बाट नेपालको इतिहासमै मन्त्री पद सम्हाल्ने पहिलो व्यक्ति हुन् ।
सुर्खेतकी स्थायी बासिन्दा वादी रास्वपाकी समानुपातिक सांसद हुन् । वर्षौँदेखि सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएको वादी समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्को सदस्य बन्नुलाई नेपाली राजनीतिक वृत्तमा एक महत्त्वपूर्ण ‘ब्रेकथ्रु’ (Breakthrough) का रूपमा हेरिएको छ ।
यसअघि पनि वादी समुदायका माग र अधिकारका लागि भएका विभिन्न आन्दोलनहरूमा सीताले सक्रिय भूमिका निभाउँदै आएकी थिइन् । समावेशी लोकतन्त्रको मर्म अनुरूप रास्वपाले उनलाई मन्त्री बनाएर राज्यको मूल प्रवाहमा ल्याउने प्रयास गरेको हो । उनले आजै शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछिन् ।