काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । गोरखा क्षेत्र नम्बर-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ ‘जेनजी’ (Gen Z) आन्दोलनका प्रमुख अगुवा हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेलगत्तै रास्वपाले गुरुङलाई शक्तिशाली मानिने गृह प्रशासनको नेतृत्व सुम्पन लागेको हो।
को हुन् सुधन गुरुङ ?
गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली घर भएका ३८ वर्षीय सुधन गुरुङ सामाजिक अभियानबाट राजनीतिमा आएका पात्र हुन् । सन् २०१५ (२०७२) को विनाशकारी भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्थामार्फत राहत र उद्धारमा खटिएपछि उनी सार्वजनिक जीवनमा सक्रिय भएका थिए ।
उनको राजनीतिक चर्चा विशेषगरी गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ आन्दोलनपछि चुलिएको हो । युवाहरूको उक्त स्वःस्फूर्त आन्दोलनमा स्वयंसेवकका रूपमा जोडिएका गुरुङ पछि त्यसको नेतृत्वदायी भूमिकामा देखिएका थिए ।
राजनीतिक मोड र चुनावी विजय
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार गठनमा सक्रिय भूमिका खेलेका गुरुङले निर्वाचनको पूर्वसन्ध्यामा रास्वपा र बालेन शाहलाई एउटै कित्तामा ल्याउन महत्त्वपूर्ण सूत्रधारको काम गरेका थिए ।
सामाजिक अभियन्ताको छवि बनाएका गुरुङले हालै सम्पन्न निर्वाचनमा गोरखा–१ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्। कोभिड महामारी, बाढीपहिरो र अन्य विपद्मा ड्रोन प्रविधिको प्रयोग गरी राहत वितरण गरेर उनले ‘प्रविधिमैत्री अभियन्ता’को पहिचान समेत बनाएका छन् ।
प्रधानमन्त्री बालेन शाहसँगको निकट समन्वय र युवा जोसका कारण उनलाई शान्ति सुरक्षा र सुशासनको मुख्य जिम्मेवारी (गृह मन्त्रालय) दिइएको रास्वपा स्रोतले जनाएको छ ।