संविधान जारी भएपछि पहिलोपटक धारा ७६ (१) को प्रयोग
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधि सभामा १८२ सिटको स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपतिले उनलाई सरकारको नेतृत्व सुम्पिएका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६ को १ को प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
२०७२ मा नयाँ संविधान जारी भएयता यो धारा प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलो अवसर हो । यसअघिका सबै सरकारहरू मिलिजुली (गठबन्धन) बनेका कारण धारा ७६ को उपधारा (२) अनुसार नियुक्त हुँदै आएका थिए ।
३५ वर्षीय बालेन शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरको र मधेशी मूलको पहिलो प्रधानमन्त्री बनेका छन् । काठमाडौँको सफल मेयरको कार्यकालपछि रास्वपामा प्रवेश गरी उनले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका थिए ।