काठमाडौँ । मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।
र्याप ब्याटलदेखि प्रधानमन्त्रीसम्म: बालेन शाह
बालेन शाहले आज दिउँसो १२: ३४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।
प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जितेको छ । रास्वपाले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।