भदौमा काँग्रेसको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २४, २५ र २६ गते १५औं महाधिवेशन हुने प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भदौमा महाधिवेशनको मिति प्रस्ताव गर्दै अब काँग्रेस महाधिवेशनमा केन्द्रित हुने बताएका हुन् ।

उनले काँग्रेसले सबै क्रियाशील सदस्यताको नयाँ अध्यावधिक गरेर पार्टीलाई पुनर्जीवित गर्ने अभियान शुरु हुने बताएका छन् । सभापति थापाले चैत्र महिनादेखि भदौसम्म पार्टीका महाधिवेशनका गतिविधि गर्ने भन्दै वडा, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशनको मिति तोकेर महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।

उनले केन्द्रीय समितिमा नभएका सबै नेताहरुलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्दै विशेष अवस्थामा विशेष महाधिवेशन भएकोले अब त्यो बिर्सेर अगाडी बढ्न आव्हान गरेका छन् ।

यस्तो छ कार्य तालिका

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्य तालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका हुन् ।

उनले पेश गरेको कार्य तालिकामा क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ ।

विं.सं. २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुङ्ग्याउने गरी कार्य योजना तय गरिएको छ । यस्तै, असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ नगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।

प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ ।

त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ ।

देउवा समूहलाई गगनको सन्देश- मैले गाडी अगाडि बढाइसके, अब रोकिँदैन

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापतिको रूपमा आफूले गाडी अगाडि बढाइसकेको भन्दै अब नरोकिने सन्देश दिए ।

उनले भने, ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिवेशनमा हुन्छ। म यो कमिटीमा नभएका बाहिरका साथीहरूलाई पनि अपिल गर्छु, विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो। नयाँ नेतृत्व आयो । हामी निर्वाचनमा भाग लियौँ, अब महाधिवेशनमा जाँदैछौं। अब विशेष महाधिवेशन अगाडि, विशेष महाधिवेशन पछाडि, कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो अब। मैले सभापतिको रूपमा यो गाडी हाँकिरहेको छु, गाडी अगाडि बढ्यो अब। अब रोकिँदैन।’

उनले गाडीमा को विशेष महाधिवेशन थियो थिएन भनेर पूर्वाग्रह नराख्ने बताए। उनले आफूहरूले असन्तुष्ट नेताहरूसँग संवादको प्रयास पनि जारी राखेको बताए । उनले थपे, ‘हामी संवाद पनि गर्छौँ। सबैलाई पूर्वाग्रह नराखी महाधिवेशनमा लिएर जान चाहन्छौँ। विशेष महाधिवेशनसँग कतिपय नेताहरूको असन्तुष्टि थिए होलान्। हामीले १ दिनमा १६५ उम्मेदवार तय गर्‍यौँ। हामीले कुनै पूर्वाग्रह नराखी निर्णय गर्‍यौँ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै