प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, समस्याको समाधान हुनुपर्छ: प्रधानमन्त्री कार्की

पोखरा । प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई प्राप्त ज्ञानलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र निर्माणमा लगाउन आह्वान गरेकी छिन् ।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सुन्दर नगरी पोखरामा आयोजित समारोहमा प्रधानमन्त्री कार्कीले युवाहरू नै अबको समाज रूपान्तरणका असली अभियन्ता भएको बताइन् ।

दीक्षित हुनु केवल औपचारिक पाठ्यक्रमको अन्त्य नभई जीवनको नयाँ प्रस्थानबिन्दु भएको उल्लेख गर्दै उनले यहाँ हासिल गरेको सीपलाई नेपाली समाजका जटिल समस्या समाधानमा प्रयोग गर्न आग्रह गरिन् ।

ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भनिन् , “सक्षम जनशक्तिले आफ्नै मुलुकभित्र किन अवसर सिर्जना गर्न सकेन? यसको समाधान खोज्ने जिम्मेवारी अब विश्वविद्यालयको पनि हो।”

हाम्रा पाठ्यक्रम र पठन पद्धति कति व्यावहारिक छन् भन्नेमा गम्भीर चिन्तन आवश्यक रहेको र शिक्षालाई अर्थतन्त्र सुदृढीकरण, नवप्रवर्तन र उद्यमशीलतासँग प्रत्यक्ष जोड्नुपर्नेमा उनले जोड दिइन्।

भदौ २३ र २४ गते युवाहरूले उठाएका आधारभूत सवालहरूलाई सम्बोधन गर्दै उनले भविष्यप्रति सकारात्मक सोच र जिम्मेवारीबोधका साथ अघि बढ्न युवाहरूलाई प्रेरित गरिन् ।

लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि उनले सबैलाई हार्दिक आह्वान गरिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै