काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विकास निर्माणका कामलाई गति दिन तीन सिफ्टमा काम गर्नुपर्ने बताएका छन् ।
सोमबार चितवनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उपसभापति शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताए। श्रम संस्कृतिमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ थियो।
धनी देशहरू राति पनि काम गर्ने तर नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्न शर्माले ८-८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना सुनाए । अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर तीन वर्षमा सकिने काम एक वर्षमै सम्पन्न गरी लागत घटाउन सकिने उनले बताए।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना गर्नुपर्ने औंल्याए। कांग्रेसको कुनै पनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति ल्याइने बताए। त्यससँगै अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको रोस्टर बनाएर नियुक्ति गरिनुपर्नेमा उनको जोड थियो।

शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो कुरा प्रस्ट राख्न र अरूलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरे। उनले भने, “हामीले कसैलाई गाली नगरौँ। आफ्ना कुरा जनतालाई बुझाऔँ। निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ। हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।”
उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए । “पार्टीले २१ फागुनलक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ। अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ‚” उनले भने, “अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ। आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन। आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्याऔँ।”
कार्यक्रममा केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गरे । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र २ का उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेसले गरेका कामबारे जानकारी गराउँदै सबैलाई गोलबद्ध गर्न र मतदाता जोड्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।