काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शहीदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु नवीन पुस्ताको मुख्य दायित्व भएको बताएका छन् ।
शहीद दिवसको अवसरमा श्रद्धासुमन व्यक्त गर्दै सभापति थापाले शहीदहरूकै समर्पणका कारण आज नेपाली जनताले स्वतन्त्रताको युगमा श्वास फेर्न पाएको उल्लेख गरे ।
‘जेनजी’ विद्रोहको स्मरण शुभकामना सन्देश जारी गर्दै थापाले भनेका छन्, “नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्तिदेखि २०८२ को ‘जेनजी’ (Gen-Z) विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा जीवन आहुति दिने वीर शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”
सुदृढ लोकतन्त्र र समुन्नत नेपाल सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने थापाको भनाइ छ । उनले शहीदका सपना पूरा गर्न र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण समेत गरेका छन् ।
कांग्रेसको नेतृत्वमा निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ मा लिपिबद्ध अधिकारहरूको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन आवश्यक रहेकोमा उनले जोड दिएका छन् । “स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न आजको दिनले प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु,” सन्देशमा उल्लेख छ ।