काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा विवादित सेयर कारोबारी दिपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरे ।
ठगी आरोप र विवादित पृष्ठभूमि
अग्रवाल सेयर बजारमा एक विवादित पात्रका रूपमा चिनिन्छन् । उनीमाथि गोल्डम्यान इन्भेष्टमेन्टको नाममा लगानीकर्ताहरूलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको थियो । पीडितहरूलाई सेयर दिलाइदिने भन्दै रकम लिएर ठगी गरेको उजुरीका आधारमा उनी गत साउन ५ गते पक्राउ समेत परेका थिए ।
सामाजिक सञ्जाल (क्लब हाउस) मार्फत निश्चित कम्पनीको सेयर किनबेच गर्न प्रोत्साहित गर्ने (कर्नरिङ) र ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोप उनीमाथि लाग्दै आएको छ। उनी साउन १५ गते हाजिर जमानीमा छुटेका थिए।
किन रोजे एमाले ? अग्रवालको तर्क:
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अग्रवालले एमालेलाई ‘तीन पुस्ताको पार्टी’ को रूपमा व्याख्या गरे । उनले आफ्नो बाबु, आफू र आफ्नो छोरा समेत एमालेसँग आबद्ध रहेको बताउँदै एमालेप्रति आफ्नो परिवारको लामो राजनीतिक सम्बन्ध रहेको स्पष्ट पारे । देशमा धेरै राजनीतिक दल भए पनि एमाले राष्ट्र र राष्ट्र प्रेमले ओतप्रोत पार्टी भएको उनको दाबी छ।
एमाले रोज्नुका उनका मुख्य तर्कहरू यस्ता छन्:
पुँजी बजारको भविष्य: एमालेको नेतृत्वमा मात्रै ७२ लाख सेयर लगानीकर्ताको भविष्य सुरक्षित हुने र बजार भरोसायोग्य बन्ने उनको दाबी छ।
राष्ट्रवादी छवि: अध्यक्ष ओलीको ‘चुच्चे नक्सा’ र पुनर्निर्माणको साहसबाट प्रभावित भएर एमाले रोजेको उनले बताए।
पारदर्शिताको माग: हालको सेयर बजार बिचौलियाको कब्जामा रहेको भन्दै त्यसको अन्त्यका लागि आफू एमालेमा आएको उनले जिकिर गरे ।
अग्रवालले आफ्नो एमाले प्रवेश व्यक्तिगत स्वार्थ नभई ‘आर्थिक सुधारको अभियान’ भएको बताए । ओली प्रधानमन्त्री हुँदा सेयर बजारले सकारात्मक गति लिएको भन्दै अब पुनः एमालेको सरकार आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।