काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने ऐतिहासिक निर्णय गरेको हो । बैठकपछि प्रवक्ता देवराज चालिसेले उपसभापति विश्वप्रकाश शर्माले राखेको प्रस्तावलाई कार्यसमितिले सर्वसम्मतिले पारित गरेको जानकारी दिए ।
मुलुकको विशिष्ट परिस्थितिलाई सही ढंगले सम्बोधन गर्न र परिवर्तनको जनचाहना पूरा गर्न थापालाई प्रधानमन्त्रीको ‘फेस’ बनाइएको कांग्रेसले जनाएको छ । प्रस्ताव पेश गर्दै उपसभापति शर्माले गगन थापामा परिवर्तित समयको स्वरलाई ‘डाइनामिक’ ढंगले नेतृत्व गर्न सक्ने सामर्थ्य रहेको बताए ।
“गगन थापासँग जुझारु र विद्रोही छवि मात्र होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्ने क्षमता पनि छ,” शर्माले निर्णय सुनाउँदै भने, “उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ, न दीर्घजीवी। त्यसैले संयम र सौम्य प्रवृत्ति भएका थापा नै अहिलेको उपयुक्त विकल्प हुनुहुन्छ।”
आगामी फागुन २१ गते हुने निर्वाचनको ४१ दिनअघि कांग्रेसले गरेको यो निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसअघि उम्मेदवार सिफारिसमा विवाद देखिए पनि केन्द्रीय समितिले सभापतिलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारेपछि कांग्रेस कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ ।
चुनावको ४१ दिनअघि कांग्रेसमा नयाँ मोड: गगन थापालाई प्रधानमन्त्रीको ‘फेस’ बनाउन प्रस्ताव