‘पार्टीमा परिवारवाद र निरंकुशता हाबी भयो, विद्रोहको झण्डा उठाएँ’: हरिबोल गजुरेल

ठमाडौँ । सिन्धुली–२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिलाएका नेकपाका नेता हरिबोल गजुरेलले नेतृत्वविरुद्ध ‘विद्रोहको झण्डा’ उठाएको घोषणा गरेका छन् ।

शुक्रबार साँझ पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालसँग भएको झण्डै दुई घण्टा लामो छलफलमा गजुरेलले बागी उम्मेदवारी फिर्ता लिन गरिएको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका हुन् । सिन्धुली-२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध गजुरेलकै प्रस्तावमा महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।

छलफलको प्रसङ्ग कोट्याउँदै गजुरेलले भने, “हामीले नेतृत्वलाई स्पष्ट भन्यौँ- राजन दाहालको उम्मेदवारी फिर्ता लिएर सहयोग गर्नुस् । उहाँहरूले उल्टै हामीलाई फिर्ता लिन दबाब दिनुभयो र कारबाहीको धम्की समेत दिनुभयो । तर हामी पछि हटेनौँ ।”

गजुरेलले पार्टीभित्र स्वेच्छाचारिता, निरंकुशता र परिवारवाद हाबी भएकाले आफू विद्रोहमा उत्रनु परेको जिकिर गरे । “यो पार्टीमा उकुसमुकुस र उत्पीडनमा परेकाहरूका लागि मैले पूर्वको केन्द्र सिन्धुलीबाट विद्रोहको झण्डा उठाएको हुँ,” उनले भने, “गगन थापाले आँट गरेर सफल भए जस्तै अब हरिबोल गजुरेल पनि लड्छ र सफल हुन्छ ।”

प्रचण्डले उम्मेदवार चयनमा विधि र प्रक्रिया मिचेको गजुरेलको आरोप छ । उनका अनुसार कार्यदलले क्षेत्र नं. १ मा राजन दाहाल र क्षेत्र नं. २ मा हरिबोल गजुरेलको नाम सिफारिस गरे पनि नेतृत्वले क्षेत्र नं. १ का उम्मेदवारलाई-२ मा ल्याएर अन्याय गरेको हो । “राजन दाहाल बाहेक अरू नेता नै छैनन् जस्तो भाष्य खडा गरियो, जुन हामीलाई स्वीकार्य छैन,” गजुरेलले थपे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै