काठमाडौँ । मनाङमा आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई नेकपा (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गरेको छ।
कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गर्न एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको बताए।
एमाले र राप्रपाले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेपछि अब मनाङमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका गुरुङविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की यशोदा सुवेदी चुनावी मैदानमा छन्। तीन दलले गठबन्धन गरेपछि नेकपाकी उम्मेदवार सुवेदीलाई चुनौति थपिएको हो । मनाङमा रास्वपाले उम्मेदवारी दर्ता नै गराएको थिएन।
आफूलाई सहयोग गर्न एमाले र राप्रपा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको कांग्रेस उम्मेदवार गुरुङले बताए। ‘एमाले र राप्रपा उम्मेदवारले मलाई समर्थन गर्न उम्मेदवारी फिर्ता लिनु भएको छ। मनाङजस्तो ठाउँमा एमाले र राप्रपाले समर्थन गर्नु ठूलो कुरा हो,’ गुरुङले नेपालखबरसँग भने, ‘राष्ट्रिय राजनीतिकको कुरा बुझेर उहाँहरूले उम्मेदवारी फिर्ता लिनु भएको छ।’
यसअघि २०७९ सालको निर्वाचनमा पनि कांग्रेसका गुरुङ निर्वाचित भएका थिए।